धरान: धरानको कार्यपालिका बैठकले पारित गरेको साबुन उद्योग खोल्न मेयर हर्क साम्पाङले वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा योजना अघि सारे पनि कानुनी अड्चन देखिएको छ । 

सर्दु खोलाको नयाँ पुल पारी रहेको वनको जग्गामा मेयर साम्पाङले साबुन उद्योगको योजना अघि सारेका छन् । कार्यपालिका बैठकबाट प्रस्ताव निर्णय हुँदा कुन ठाउँमा निर्माण गर्ने भन्ने उल्लेख थिएन । धरान ८ तीनकुनेमा नेपाल सरकार मातहतकै औद्योगिक क्षेत्र छ भने उपमहानगरपालिकाकै पहलमा वडा नं ६ स्थित पानवारीमा औद्योगिक ग्राम निर्माणको योजना पनि अघि बढीरहेको छ । मेयर साम्पाङले भने ती दुवै ठाउँमा उद्योग खोल्न चासो नदिई वडा २० स्थित वनको जग्गामा योजना लैजादा कानुनी अड्चन आएको हो। 

मेयर साम्पाङले उद्योगको लागि हेरेको जग्गा वन क्षेत्रमा पर्ने र त्यहाँ रुखहरुसमेत भएको कारण त्यसलाई नष्ट गरेर भौतिक संरचना बनाउन नमिल्ने भन्दै वन कार्यालय र उपभोक्ता समुहले प्रक्रिया पुरा गरेर मात्र योजना अघि बढाउन आग्रह गरेको छ । मेयर साम्पाङले पठाएका प्रतिनिधिहरुसँगको छलफलमा वन कार्यालय र उपभोक्ता समुहले यस्तो आग्रह गरकेो हो । 

sabun1

विष्णुपादुका सब डिभिजन वन कार्यालयका इञ्चार्ज चन्द्रबहादुर बर्मेले मन्त्रालयबाट निर्णय भएर भोगाधिकार स्थानीय सरकारमा आएपछि मात्र उद्योग निर्माणको काम अघि बढाउन सक्ने बताए । उनले आफु विकासको विरोधी नभएपनि यसको लागि प्रक्रिया पुरा गर्न पनि स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

यस्तै, जलकन्या वन समुहकी अध्यक्ष यमुना राईले पनि रोजगारी सृर्जना हुने भएकोले आफुहरु उद्योग खोल्न दिने पक्षमा भएपनि कानुनी प्रक्रिया पुरा गर्नुपर्ने बताइन् । उनले नगरपालिकाबाट जग्गा उपलब्ध गराउन माग गर्दै पत्र आएमा साधारणसभाबाट पारित गरेर सिफारिश गरिदिने र विभाग, मन्त्रालयबाट निर्णय गराएर आउनुपर्ने बताइन् । सल्लाहकार प्रेमकुमार राईले पनि स्थानीयबासी साबुन उद्योग खोल्ने योजनाले उत्साहित भएको र कसैले वाधा, अवरोध नगर्ने बताए । उनले आवश्यक प्रक्रिया पुरा गरेर छिटो उद्योग निर्माण होस् भन्ने पक्षमा रहेको बताए । 

जनता उठाएर ठेगान लगाउछु: मेयर

मेयर साम्पाङले भने कसैले भाँजो हालेमा जनता उठाएर ठेगान लगाउने चेतावनी दिएका छन् । उनले आफ्नो फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट धरानलाई आत्मनिर्भर र समृद्ध बनाउन उत्पादन कार्य गर्न खोज्दा कसैले भाँजो हाल्न खोजे जनता उठाएर ठेगान लगाइदिने चेतावनी दिएका हुन् । सोमबार नै मेयर साम्पाङले विष्णुपादुका सब डिभिजनका इञ्चार्ज बर्मेलाई कार्यालयमा बोलाएर छलफलसमेत गरेका थिए ।

भिडियो: