धरान: धरानका मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोक्दै बाहिर जानु भनेपछि कार्यपालिका बैठक बिथोलिएको छ ।

सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले धारणा राख्दै पहिलाकै डिपिआर अनुसार काम अघि बढाउनुपर्ने भन्दै अन्य कार्यपालिका सदस्यहरुलाई पनि सोही अनुसार विचार गर्न आग्रह गरेका थिए । देवानको कुरा नटुंगिदै मेयर साम्पाङले भोट नमाग्न भन्दै बस्न भनेका थिए । तर देवानले नबस्ने र आफुले कुरा राख्न पाउनुपर्ने भन्दै अडान लिएपछि मेयर साम्पाङले त्यसो भए बाहिर जानु भनेका थिए । 

karyapalika1

मेयर साम्पाङको यो अभिव्यक्तिले कार्यपालिका सदस्यहरुको अपमान गरेको भन्दै सबै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेर निस्किएका थिए । उनीहरुले मेयरले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग राखेका छन् । साम्पाङले माफ नमागे बैठक निरन्तर बहिष्कार गरिरहने कार्यपालिका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले बताए । कार्यपालिका बैठकमा बोल्न पनि नदिने र कुरा राख्न पाउनुपर्छ भनेर भन्दा निस्केर जानुस् भनेर मेयर जस्तो गरिमामय पदमा बसेका व्यक्तिले बोल्नु शोभनीय र न्यायोचित नभएकोले बैठक बहिष्कार गरिएको बताए । मेयर साम्पाङले सार्वजनिकरुपमा माफी नमागेसम्म बैठकमा सहभागी नहुने पनि उनले जानकारी दिए ।

karya

यता मेयर साम्पाङले भने लथालिङ्ग अवस्थाको सप्तरंगी पार्कलाई बहुँसाँस्कृतिक पार्क बनाउने योजना ल्याउदा त्यसलाई असफल बनाउने गरि पुरानो कुरा गरेकोले आफ्नो अवधारणा बताउन बस्नुस् भन्दा कार्यपालिका सदस्य नमानेपछि आफुले त्यसो भए बाहिर जानुस् भनेको स्वीकार गरे । उनले माफी नमाग्ने अडान लिदै कार्यपालिका बैठक बहिष्कार भइरहे तोकआदेशकै भरमा उपमहानगरपालिका चल्ने पनि बताए । कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुको काम, गतिविधि र अभिव्यक्तिहरुको मुल्यांकन जनताले गर्ने पनि उनले बताए । 

भिडियो: