धरान: तिहार नजिकिदै गर्दा छिमेकी मुलुक भारतबाट लाखौंको सयपत्री फूलको माला धरान भित्रिएको छ ।

नेपालमा यसपाली सयपत्री फूल कम फूल्ने भएपछि व्यापारीहरुले गत बर्षभन्दा बढी तयारी माला आयात गरेका छन् । व्यापारीहरुले कलकत्ताबाट आयात गरेको तयारी माला धरान १३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा राखेका छन् । कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार कार्तिक १ गतेसम्म १ लाख २५ हजार माला कोल्डस्टोर (शितघर)मा भण्डार गरिएको छ । अझै ६० हजार माला भारतबाट आउने प्रक्रियामा रहेको व्यापारीहरुबाट जानकारी पाएको पनि उनले बताए ।

flower

यो बर्ष नेपालमा फूल फूल्ने समयभन्दा अघि नै तिहार आएकोले स्थानीय उत्पादनको फूल बजारमा कम आउने व्यापारीहरुको भनाई छ । यसले गर्दा विगतको बर्षहरुमा २५ प्रतिशत मात्र माला भारतबाट आयात हुने गरेकोमा यसपाली ७५ प्रतिशत तयारी माला भारतबाट आउने व्यवस्थापक भट्टराईले बताए । गत बर्ष १ करोड ६२ लाख फूलको व्यापार भएकोमा यसपाली १ करोड ७५ लाख कारोबार हुने अनुमान गरिएको छ । 

फूल व्यापारी टिकाराम श्रेष्ठका अनुसार धनकुटा, तेह्रथुम, पानवारी, ठिंगाबारीलगायत क्षेत्रमा पुग्दा कोपिला मात्र भेटिएको बताए । फूल ढिला रोपेको र तिहार छिटो आएको कारण स्थानीय उत्पादन नपाइने र भारतबाट तयारी माला धेरै भित्रिएको बताए । ‘विरुवा टन्ने देखे, तर कोपिला मात्र छ । पात्रो हेरेर फूल नरोप्नाले यस्तो भयो,’उनले भने, कलकत्ताबाट पनि थोरै माला आएको छ । महंगो हुन्छ ।