धरान: एक महिनापछि बसेको धरानको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ ।

गत असोज १३ गतेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बाहिर जानु भन्ने शब्द प्रयोग गरेको बिषयले आजको बैठक पनि प्रभावित भएको हो । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त भनाई प्रति मेयर साम्पाङले आत्मालोचित हुनुपर्ने वा माफी माग्नुपर्ने माग राखेका थिए । तर, मेयर साम्पाङले आफुले पटक पटक बस्नुस् भन्दा नमानेको र आफु बैठकको अध्यक्षता गरिरहेकोले भनेको नमान्नु पनि मर्यादाविपरीत भएको भन्दै आफुले गल्ती नगरेको कारण माफी नमाग्ने अडान राखेका थिए ।

karya

यही बिषयमा मेयर र वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुबीच झण्डै आधा घण्टा जुहारी चलेको थियो । लामो छलफल हुँदा पनि एजेण्डामा प्रवेश गर्ने अवस्था नबनेपछि मेयर साम्पाङले बैठक स्थगित गरेका थिए । अब बैठक कहिले बस्छ भन्ने टुंगो लागेको छैन । अघिल्लो बैठकमा सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने एजेण्डामा कार्यपालिका सदस्य अनुप देवानले आफ्नो धारणा राखिरहदा विवाद उब्जिएको थियो । उनले पुर्वमेयर स्वर्गीय ध्यानबहादुर राईको पालामा उक्त पार्क संरक्षण गरेर नामकरण भएको र हाल डिपिआर पनि बनिसकेकोले सोही अनुसार निर्माण गर्नुपर्ने, नाम परिवर्तन गर्न नहुने भन्दै आफ्नो धारणामा समर्थन जनाउन आग्रह गरेका थिए ।

karya2

उनको उक्त भनाईमा असन्तुष्टी जनाउदै मेयर साम्पाङले भोट नमाग्नुस् भन्दै उनलाई बोल्नबाट रोक्दै बस्न भनेका थिए । तर, कार्यपालिका सदस्य देवानले आफु नबस्ने भन्दै आफ्नो कुरा जारी राखेपछि मेयरले त्यसो भए बाहिर जानुस् भनेका थिए । मेयर साम्पाङको यो अभिव्यक्तिप्रति आक्रोशित हुदै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका थिए भने मेयरले माफी नमागेसम्म बैठकमा सहभागी नहुने घोषणा गरेका थिए ।