धरान: नेकपा एमाले जसपा तालमेलका सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा संयुक्त उम्मेद्वार अशोककुमार राईले आफु चुनाव जितेर गएपछि स्मरणीय हुने काम गर्ने बताएका छन् ।

धरान १८ स्थित रत्नचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार राईले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफु धरानबासी भईसकेको र धरानसँग आफ्नो लामो सम्बन्ध रहेको पनि खुलाए । ‘धरानको विकास गर्न म धरानवासी भएर नै चुनाव लड्दैछु, त्यसैले मंसिर ४ गते छाता र सूर्यमा मतदान गर्न आम मतदाताहरुमा आग्रह गर्छु ।’

उम्मेदवार राईले वडा नम्बर १८ मा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई थप प्रभावकारी बनाउन स्तर उन्नती गरेर सेवालाई अझै गुणस्तरीय वनाउने पनि प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘धरानको समस्या खानपानी समस्या हो, यसको समाधान गर्न पनि मेरो उम्मेदवारी हो । यहाँका नगरपिताले जुन कुरा खानेपानी पानी समस्या समाधानको प्रयत्न गर्दै हुनु हुन्छ, म थप त्यसका लागि कोशीको पानी खुवाउन प्रतिवद्ध छु ।’ कोण सभामा निवर्तमान प्रतिनिधीसभा सदस्य जयकुमार राईले मंसिर ४ पछि स्थायी सरकार बनाउन एमाले –जसपा तालमेल आवश्यक भएको बताए । 

कोणसभा अघि नेकपा एमाले र जनता समाजवादी नेपालका साझा उम्मेदवारहरुलाई धरान–१८ का जनप्रतिनिधीले शुभकामना दिएका थिए । मसिर ४ गतेको चुनावको लागि घरदैलो अभियानमा रहेको उम्मेदवारहरुलाई मतदाताहरुको शुभकामना र बधाई सँगसँगै जनप्रतिनिधिहरुले पनि वडा–वडामा वधाई तथा शुभकामना दिएका हुन् । मंगलबार धरानको वडा नम्बर १८ मा साझा उम्मेदवार अशोक राई र विजय राई सहित नेता तथा कार्यकर्ता घरदैलो अभियानमा थिए । धरान –१८ को रत्न चौकमा पुगेका उम्मेदवार कोणसभाको तयारी गरिरहेका वेला वडा नम्बर १८ का वडाध्यक्ष प्रवीन कुमार राई कोणसभास्थलमा नै पुगेर जितको शुभकामना दिएका हुन् । घरदैलोमा रहेको उम्मेदवारसँग वडाको विकास र समग्र धरानको विकासको लागि आशाको केन्द्र भएको भन्दै मतदाताहरुले शुभकामना दिए ।