मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको चुनावी तालमेल छ, र यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन्, अशोककुमार राई । आफैले संगठन गरेको, निर्माण गरेको पार्टी एमालेलाई परित्याग गरेर अलग्गै पार्टी बनाएका राई विभिन्न पार्टीसँग एकता गर्दै अहिले जसपाको संघीय परिषद अध्यक्ष छन् ।

चुनावको मुखमा एमाले-जसपाको तालमेल भएपछि उनी सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार बनेका छन्, र आफैले निर्माण गरेर छोडिसकेको पार्टी एमालेको साथमा चुनाव जित्ने आशामा छन् । यद्यपी, एमालेकै प्रदेश कमिटी सचिवालय सदस्य मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेद्वारी दिएपछि उनलाई चुनौती थपिएको राजनीतिक वृत्तमा चर्चा छ । चुनावी ब्यस्तताको बीचमा यिनै बिषयमा केन्द्रीत रहेर उम्मेद्वार राईसँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ?


प्रश्न: तपाईको चुनावी एजेण्डा के के छन् ?

उत्तर: नेपालमा दलहरुको बीचमा जुन किसिमले विश्वासको अभाव हुदै गएको देखिन्छ । विभाजन बढ्दै गएको देखिनछ । कदाचित अस्वस्थ्य ठाउँसम्म पुग्ने हो कि भन्ने चिन्ता पनि लाग्छ । यो राजनीतिकलाई समन्वयको ठाउँमा ल्याउनुपर्छ । राष्ट्रिय सहमति गरेर जान सकिने ठाउँमा राष्ट्रिय सहमति गरेर जाने परिपक्क राजनीतिकको प्रक्रियालाई अवलम्बन गर्नुपर्छ भन्ने मलाइ लाग्छ । 

दोस्रो कुरा संघीयतामा गइसकेका छौं, तर प्रदेश र स्थानीय तहले ऐन कानुन बनाउन सक्ने अवस्था बनिसकेको छैन । आफ्नो कर्मचारीलाई परिचालन गर्नसक्ने अवस्था पनि बनेको छैन । त्यसको निम्ति संघीय निजामति सेवा ऐन निर्माण गर्नेदेखि अरु धेरै काम जसले संघीयतालाई सुदृढ गर्छ भन्ने लाग्दछ । कतिपय ऐन कानुन त्रुटीपुर्ण र विभेदकारी पनि रहेका छन् । त्यस्ता ऐन कानुन सच्याउनको लागि भुमिका खेल्न सकिन्छ कि भन्ने मलाई लागेको छ । 

संविधानलाई पुर्णरुपले कार्यान्वयन गर्नको लागि ऐनहरु बनाउनुपर्ने हुन्छ । ती ऐनहरु बनाउने सन्दर्भमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, बिशेष क्षेत्र संविधानमा व्यवस्था छ, त्यो व्यवस्थानलाई कार्यान्वयन गर्ने ऐनलाई पनि अघि बढाउन सकिन्छ कि भन्ने लागेको छ । मुलुकको विदेश नितीमा पनि असंलग्न परराष्ट्र नीतिलाइ सहीरुपमा कार्यान्वयन गर्ने परिस्थित निर्माण गर्नुपर्छ भन्ने लागेको छ । र, राष्ट्रिय गौरवको योजनाहरु र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउने योजनाहरु निर्वाध अगाडि लैजानुपर्छ । त्यसको लागि दह्रो इच्छाशक्तिको साथ सरकार लाग्नुपर्छ भन्ने सम्बन्धमा पनि मैले आफ्नो तर्फबाट भुमिका खेल्न सक्छु त्यो भुमिका पनि खेल्नुपर्छ भन्ने लागकेो छ । 


ashok-rai

प्रश्न: तपाईको निर्वाचन क्षेत्रको एजेण्डा चै के के छन् ?

उत्तर: जहाँसम्म आफ्नो निर्वाचन क्षेत्रको कुरा छ, यो क्षत्रेलाई एकीकृत सेवा प्रदान गर्ने गरि सडक सञ्जालको विकास गर्नुपर्छ । त्यस्तै गरेर स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनको लागि वीपी प्रतिष्ठानलाई बिशिष्टकृत अस्पतालहरुसहित बिशेषज्ञ उत्पादन गर्ने गरि अगाडि बढाउन जरुरी ठान्दछुँ । अरु उपकरणको सन्दर्भमा पनि हेर्नुपर्नेछ । धार्मिक पर्यटनको कुरा पनि छ । यो क्षेत्रको देवस्थलहरुलाई तीर्थस्थलकोरुपमा रुपान्तरित गर्ने र तीर्थालुहरु भित्राएर धार्मिक पर्यटन अघि बढाउन सकिन्छ भन्ने लागेको छ । सप्तकोशीको पानीलाई पर्यटन अथवा जलक्रिया मनोरञ्जनको आर्थिक उपार्जनको साधन पनि बनाउन सकिन्छ भनने रुपमा स्थानीय सरकार,प्रदेश सरकारसँग समन्वय गरेर कोशीको पानीलाई कोशी टप्पु आरक्षसँग जोडेर इको टुरिज्म विकास गर्न सकिन्छ । कोशीटप्पु भनेको नेपालको एक मात्र अर्ना र निलगाई देख्न पाइने ठाउँ हो, ४ सय प्रजातिको चराहरु एकैठाउँबाट हेर्न, अध्ययन गर्न सकिने ठाउँ हो, त्यसो हिसाबले विकास गर्नुपर्छ । 

धरान उपमहानगरपालिकामा एउटा सुविधासम्पन्न सभाहलको आवश्यकता छ, एक हजार मान्छेले सभा सम्मेलन गर्न सक्ने सभाहल जरुरी छ, यसलाई अघि बढाउने हो । यहाँको आर्थिक जीवनमाथि उठाउन, व्यापार व्यवासाय उठाउन लेउती सुरुङ मार्ग र तमोर करिडोर सडकले ताप्लेजुङ जोड्ने काम गरेर स्तरोन्नति गर्ने काम गर्नुपर्छ । त्यो भयो भने धरानमा फेरिु पनि थोक व्यापार पुर्नस्थापित हुनेछ । यहाँ सुकुम्बासी समस्या छ । हल गर्न ऐन बनिसकेको छ, त्यो ऐन अन्तर्गत सुकुम्कासी समस्या हल गर्न तिब्रता दिने । यो बर्षौंदेखि थाति रहेको बिषय छ, र सुकुम्बासी बस्तीमा जादा नेताहरुले आश्वासन दिदा विश्वास नगर्ने स्थिति भएको छ । किनकि सुकुम्बासी मुद्दालाई राजनीतिकरण गरेर चुनावमा भोट माग्ने बिषय बनाएको गुनासो धेरै छ । अब म भोट माग्ने बिषय बनाउने होइन कि ऐन बनिसकेकोले साच्चै समाधान हुन्छ, ढिलो चाडो मात्र हो । यसलाई छिटो गराउनको लागि राष्ट्रिय आयोग, जिल्ला आयोगलाई घचघच्याउने काम, भुमिका मैले खेल्नुपर्छ, खेल्छु भन्ने लाग्छ ।

समग्रमा भन्नुपर्दा धरानको सुरक्षा र समुन्निमा लाग्छ । यहाँ शिक्षाको केन्द्र पनि बनाउन पनि सकिने सम्भावना छ । यहाँ सम्भव भयो भने खेलकुद र संगीत सम्बन्धि एकेडेमीहरु वा प्रदेश सरकारले चाह्यो भने विश्वविद्यालयको लागि पनि अनुरोध गर्ने मेरो सोचाई छ । तरहरा कृषि केन्द्र, जडिबुटी उद्यान, कोशी तटमा नदी उकास जमिन सदुपयोग गर्ने गरि कृषि विश्वविद्यालय प्रदेशले चाह्यो भने खोल्न सक्छ, त्यसको लागि आग्रह गर्ने, प्ररित गर्ने, सघाउने पनि मेरो सोचाई छ । यहाँ पर्यापर्यटनको विकास गर्न खुल्ला चिडियाखाना बनाउन पनि पहल हुन्छ । धरानलाई बहुसाँस्कृतिक थलो हो, पर्यटन केन्द्रको विकास गर्न पुर्वाधारहरु विकास गर्नुपर्छ । नीजि क्षेत्रका लगानीकर्ताहरुले प्याराग्लाइडिङको पनि प्रयत्न गरिरहनुभएको छ, उहाँहरुलाई प्रेरित गर्ने सोचमा छुँ । 

प्रश्न: तपाईको निर्वाचन क्षेत्रमा धरानसँगै बराहक्षेत्र र रामधुनीको पनि केही वडा पर्छ, त्यो क्षेत्रको सधै ओझेलमा पर्छ, ती क्षेत्रको लागि चै योजना के छ ?

उत्तर: यो कुरा सत्य पनि छ । त्यो क्षेत्रको लागि मैले खास गरि सडक सञ्जालसँग त्यो क्षेत्रको बस्तीहरुलाई धरानसँग जोड्ने । धरानमा उपलब्ध हुने स्वास्थ्य सेवा, शिक्षा, पर्यटन र अरु व्यवासायको स्वाद उहाँहरुले लिन सक्नुहोस्, सेवा र सुविधा उपभोग गर्न सक्नुहोस् भन्ने दृष्टिकोणबाट सडक सञ्जालको विकास गर्नुपर्छ । चक्रघटी चतरा बराहक्षेत्रको सडक स्तरोन्नती गर्नुपर्छ । त्यस्तै गरेर चक्रघटी, बांगे, नडहा हुदै सर्दु पुल जोड्ने सडक पनि स्तरोन्नति गर्नुपर्छ ।

बांगे, कालाबञ्जार र धरान जोड्ने सडकलाई पनि स्तरोन्नति गर्नुछ । बक्लौरी, पञ्चायन हुदै हरियलाी निस्कने सडक पनि स्तरोन्नती गर्नुछ । यी सडकहरु सबै मौषममा चल्ने भयो भने धरानसँग आवातजावत बढ्छ । उपचारको लागिव एम्बुलेन्स सेवा सदुपयोग गर्न सम्भव हुन्छ । यहाँ आफ्नो उत्पादन बेच्न र यहाँ पाउने किन्न सुविधा हुनेछ । यो हिसाबले सोचाई बनाएको छु । ती क्षेत्रहरु आझेलमा परेको मनोविज्ञानबाट माथि उठाउनुपर्छ भन्ने लागेको छ ।

प्रश्न: यो निर्वाचनमा तपाईको जितको आधार के हो ?

उत्तर: पहिलो कुरा धरान जस्तोसुकै प्रतिकुल अवस्थामा पनि एमालेले एक्लै जित्दै आएको ठाउँ हो । अहिले एमालेसँग जसपा समेत एकीकृत भएर तालमेलमा साझा उम्मेद्वारी दिएर हामी उठेका छौं । त्यसले गर्दा जित्ने पहिलो आधार त्यही नै हुन्छ । दोस्रो आधार भनेको धरान र निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय तहको नेतालाई नै अगाडि लैजानु राम्रो हुन्छ भन्ने अनुभव पनि गरिरहेको मैले पाएको छुँ । त्यो आधारमा पनि यहाँका मतदाताहरुले मलाई मतदान गर्नुहुन्छ, र सेवा गर्ने मौका दिनुहुन्छ भन्ने लागेको छ ।

पचास बर्षदेखि मैले लोकतन्त्रको लागि जसरी लडे, जसरी धरानमा संगठन गरे, आज पनि नेकपा एमालेका धेरै नेता, कार्यकर्ताहरु मसँग सुपरिचत व्यक्तित्वहरु हुनुहुन्छ । मसँग हिजो सहकार्य गरेका व्यक्तित्वहरु हुनुहुन्छ । त्यसआधारमा पनि मतदाताहरुले मलाई निवार्चित गर्ने अवस्था रहन्छ । त्यसपछि, मैले भनेका प्रतिवद्धताहरु धरानको उन्नति, निर्वाचन क्षेत्रको उन्नति, राष्ट्रिय राजनीतिमा मैले गर्नसक्ने योगदानको निम्ति एक पटक मौका दिनुपर्छ भन्ने सोचमा मतदाताहरु पुग्नुहुन्छ भन्ने विश्वास छ । 

प्रश्न: एमालेबाट मनोजकुमार मेन्याङ्बोले बागी उम्मेद्वारी दिनुभएको छ, उहाँको उम्मेद्वारी कतिको चुनौतीपुर्ण ठान्नु हुन्छ ?

उत्तर: यो एउटा सबै पार्टीमा बागी, बिद्रोही हुने विकृति छ टिकट नपाउदा । विभिन्न कारणले बागी हुने स्थ्तिि होला कसैको निजी स्वास्र्थले होला, कसैको केही लागेर होला । यसलाई दलहरुले, दल सञ्चालन गर्ने नेताहरुले, हामीहरुले नै सोच्नुपर्छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने, नदोहोरिन नदिने वातावरण बनाउनुपर्छ ।

धरानको जहाँसम्म कुरा छ, व्यक्तिले व्यक्तिगत स्वतन्त्रता प्रयोग गर्ने कुरा छदैछ । पार्टी त्यागेर, सबै जिम्मेवारी त्यागेर म स्वतन्त्ररुपमा उठ्छु भन्दा नागरिकले आफ्नो नागरिक हक प्रयोग गर्न पाउनुपर्छ, अन्यथा भन्ने कुरा आउदैन् । स्वेच्छिकरुपमा पार्टी त्यागिसके पछि त्यो सबैलाई नागरिक हक प्रयोग गर्ने हक प्राप्त हुन्छ । जहाँसम्म हारजितको खेल छ, मतदानको खेल छ, पार्टीले निर्णय गरिसकेपछि नेकपा एमाले जस्तो अनुशासित र इमान्दार मान्छेहरु भएको पार्टीले तलमाथि हुन दिदैन भन्ने मलाई लाग्छ । कसैले व्यक्तिगतरुपमा मतदान गर्न स्वतन्त्र पनि हुनुहुन्छ । तर, पार्टीमा बसिसकेपछि पार्टीको निर्णयलाई मान्नु, कार्यान्वयन गर्नु नैतिक हिसाबले मात्र होइन, वैधानिक हिसाबले पनि त्यो बाध्यता हो । त्यसो नगर्नु चै अत्यन्तै असुन्दर कुरा हो, विकृत कुरा हो भन्ने मलाई लाग्छ । 

प्रश्न: भनेपछि मनोज मेन्याङ्बोले आशोक राईलाई चुनौती दिइरहेको छ भन्ने चर्चा छ, तपाईलाई त्यस्तो लागेको छैन ! परिणाम त्यस्तो आउदैन !

उत्तर:  मैले त त्यस्तो देख्दिन । सबै साथीहरु रातारात लागिनै रहनुभएको छ । छाता चिह्न र सुर्य चिह्नलाई जिताउन भनेर लागिरहनुभएकै छ । छाता र सुर्य चिह्न भन्दा बाहिर सोच्ने स्थिति त न जनता समाजवादी पार्टीको हुनसक्छ न नेकपा एमालेको हुनसक्छ । त्यो नहुनु भनेको त त्यसले समिकरण र सहकार्यलाई नै आघात पुग्ने बिषयबस्तु हो । किनकि अहिले नेपालको राजनीतिमा समिकरण नबनाई, सहकार्य नगरि कुनै एउटा पार्टीले बहुमत ल्याउन सक्ने अवस्था हुदैन । सरकार बनाउदा पनि र चुनाव लड्दा पनि समिकरण आवश्यक पर्ने कुरा भएकोले यो कुरालाई सबै साथीहरुले, नेताहरुले बुझ्नु नै भएको छ । त्यो बुझेर नै हामीले सहकार्य गरेका छौं, साझा उम्मेद्वार दिएका छौं । 

ashok-rai-jasapa

प्रश्न: विगतको निर्वाचन र अहिलेको निर्वाचन प्रचारप्रसारमा के फरक पाउनु भएको छ ?

उत्तर: अन्तर त धेरै छ । खास गरि निर्वाचन आयोगले नै घरदैलो कार्यक्रमलाई घटाइदिएको छ । म त्यो निर्णयको प्रशंसक हुँ, निक्कै राम्रो भएको छ । हामी घर घरमा जान्छौं, कोठामा बस्छौं, आफ्नो कुरा राख्छौं, उहाँहरुले जिज्ञासा राख्नुहुन्छ, हामी त्यसको जवाफ दिन्छौं । त्यो हिसाबले समयको बचत भएको छ, खर्चको बचत भएको छ । जनता जो व्यवसायिक हुनुहुन्छ, ब्यस्त हुनुहुन्छ, र बाधा पनि कम पुगेको छ । डेढ दुई सयको लावालस्कार लिएर हिड्ने, आकाश तिर फर्केर नमस्कार गरेर भोट माग्ने प्रक्रिया उपयोगिताविहिन, समय र खर्चको नष्ट गर्ने प्रक्रिया र अरु सबैलाई पनि पीडा हुने अवस्थालाई निर्वाचन आयोगले सहीढंगले सम्बोधन गरेको छ भन्ने लागेको छ । 

प्रश्न: चुनाव भन्नुबित्तिकै निक्कै खर्चालु छ भनिन्छ, त्यस्तो नै हो ?

उत्तर: यो चुनाव खर्चालु नै छ । यो बढीमतीय चुनाव प्रणालीलाई परिवर्तन गरेर समानुपातिक चुनाव प्रणाली बनाउनुपर्छ भन्ने पनि जसपाको धारणा हो । जहाँ खर्च हुदैन, धाँधली पनि हुदैन । जहाँ व्यक्ति पनि उठ्छ, पार्टी पनि उठ्ेछ । पार्टीले पाएको भोटले सिटसंख्या निश्चित हुन्छ । व्यक्तिले पाएको भोटले को मान्छे प्रतिनिधित्व प्राप्त हुन्छ भन्ने कुरा निश्चित हुन्छ । यो खालको निर्वाचन प्रणालीमा जानुपर्छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकले खर्चालु चुनाव प्रणालीमा जानु भनेको एकदमै हानिकरक छ र यो नै भ्रष्टचारको प्रस्थान विन्दु हो, मलाई त्यस्तो लाग्छ, हाम्रो पार्टीलाई त्यस्तो लाग्छ । यो चुनाव प्रणाली फेर्न सकिएन भने हामीले ल्याएको परिवर्तनलाई, व्यवस्थालाई कही न कही खर्चालु चुनाव प्रणालीले प्रहार गर्छ, त्यसलाई अफ्ठेरोमा पार्छ । 

प्रश्न: तपाईले यस्तो भन्दैगर्दा तपाई आफै पनि त यो चुनाव प्रणालीको अभ्यास गर्नुपरेको छ होइन ?

उत्तर: यो त के छ भने आयोगले नै सिमा तोकिदिएको छ । तर आयोगले खर्चको सिमा मात्र तोकेको छैन, खर्च घटाउने तरिकाहरु पनि ल्याएकोले मलाई लाग्छ यसपटकको चुनाव आयोगले तोकेको सिमा भन्दा कम खर्चमा नै सम्पन्न हुन्छ । 

प्रश्न: तपाईले उम्मेद्वारी दर्ताको क्रममा नै यो प्रश्नको जवाफ दिनु भएको थियो । तर अझै पनि तपाईका विरोधीहरुले, आलोचकहरुले भन्ने गर्छन्, अशोक राई धरानको, सुनसरी क्षेत्र नं १ को रियल उम्मेद्वार होइन, बाहिरबाट आएका हुन् भन्छन् । धरानसँगको तपाईको सम्बन्ध कहिलेदेखि हो ?

उत्तर: चुनावमा एक खालको मान्छेहरु हुन्छन्, जसले भ्रमहरु फैलाएर कुहिरोभित्र जनतालाई झुक्याउन चाहन्छन् । धरानसँगको मेरो सम्बन्ध १० बर्षको हुँदादेखि कुनै न कुनै रुपमा नाता जोडिएको छ । मेरा भाईबन्धुहरु सबै धरानका बासिन्दा छन् । त्यतिमात्र होइन, म धरानबासी भैसकेको छुँ, मैले धरानमै आफ्नो घरजग्गाको व्यवस्था गरिसकेको छुँ । त्यतिमात्र होइन, मैले शिक्षा आर्जन गरेको ठाउँ धरान हो । हात्तिसार क्याम्पसबाट आइएस्सी सकेको हुँ । त्यसपछि म निर्दलियताको विरुद्धमा लड्न भुमिगत भएर पार्टी संगठन गर्न नेकपा माले, एमाले बनाउन १२ बर्ष म गुप्तबास बसे । त्यो भुमिगत कालमा पनि धरानमा मैले निरन्तर काम गरे । खासगरि २०४६ सालको जनआन्दोलनको नेतृत्व पनि मैले धरानमा बसेर नै भुमिगतरुपमा गरेँ । त्यो हिसाबले धरानसँग मेरो लामो सम्बन्ध छ ।  

२०४८ सालमा मनमोहन अधिकारी पछि मेरो नै नाम थियो, यहाँबाट उम्मेद्वारी दिने भनेर । मालेले त्यो निर्णय पनि गरिनै सकेको थियो, तर एमाले भएपछि मनमोहन जीलाई हामीले सम्मान गर्नुपर्छ भन्ने आधारमा उहाँलाई उम्मेद्वार बनायौं वा उहाँले देशभरिमा जुन सिट रोज्नुहुन्छ, रोज्नुस् भन्यौ । उहाँले यो रोज्नुभयो, हामी सबैले सहयोग गर्यौं, उहाँले विजय प्राप्त गर्नुभयो । अब उहाँ पनि धरानको रियल हुनुहुन्थ्यो कि हुनुहुन्नथियो, त्यो म भन्न चाहन्न । तर धराने जनताले, मतदाताले स्वागत गरेर विजय माला पहिराएर पठाएका थिए ।

र, म यहाँ आज मात्रै उठेको होइन नि । २०७४ सालमा पनि उठिसके । धरानको रियल उम्मेद्वार होइन भन्नेहरुलाई यो क्षेत्रका मतदाताहरुले त त्यति बेला नै जवाफ दिइसके नि । यो खालको हावादारी कुरालाई खारेज गरिसके नि जनताले । २२ हजार १ सय २३ भोट सदर भोट हो । ती सबै जनता चै कहाँका हुन् ? ती सबै मतदाता कहाँका हुन् ? यही क्षेत्रका निवासी होइनन् ? उहाँहरुले स्वीकार गरिसकेको, दोस्रो स्थानमा राखिसकेको उम्मेद्वारलाई यहाँको होइन, यहाँको रियल होइन भन्न खोज्नु पुर्वाग्रह सिवाय केही होइन । पुर्वाग्रही मान्छेहरुको कुनै औषधी छैन, लवस्तराको कुनै औषधी हुदैन ।