धरान: एमालेका मजदुर नेता भीम ज्वाला राईले धरान र सुनसरी क्षेत्र नं १ ले यसपाली केन्द्रसँग जोड्ने नेता पाएकोले अशोककुमार राईलाई जिताएर पठाउन मतदाताहरुलाई आग्रह गरेका छन् । 

धरान १६ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे नेता राईले धरान र क्षेत्र नं १ ले सधै केन्द्रसँग पहुँच नभएको गुनासो गरिरहदा अहिले भने पहुँच भएको नेता उम्मेद्वारकोरुपमा पाएको बताए । उम्मेद्वार राई राष्ट्रिय नेता भएको उल्लेख गर्दै एमाले प्रदेश नं १ कमिटी सदस्यसमेत रहेका ज्वालो यो अवसरलाई खेर जान नदिन पनि मतदाताहरुसँग अपिल गरे । 'सधै धरानको पहुँच केन्द्रमा पुग्न सकेन भनेर गुनासो गथ्यौं, हामीलाइ अहिले अवसर प्राप्त भएको छ । यो पटक हामीलाई केन्द्रसँग जोड्ने शालिन, बौद्धिक र क्षमतावान नेता नेकपा एमालेले दिएको छ,' ज्वालाले भने,'प्रतिनिधि सभामा छाता चिह्नमा मतदान गरी राष्ट्रिय नेता अशोककुमार राईलाई जिताउन आवश्यक छ, धरानका दुर्गमलाई विकास गर्न हामीसामु अवसर आएको छ ।'

नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय अध्यक्षसमेत रहेका ज्वालाले बागी उम्मेदवारलाई सहयोग गर्ने एमाले नेता, कार्यकर्ताहरुलाई पार्टीकै काममा फर्कन आग्रह पनि गरे । एमाले जसपाका साझा उम्मेदवारलाई मत माग्दै ज्वालाले पार्टी निर्णयको सम्मान गर्न नसक्नु बागीका लागि प्रत्युत्पादक हुने पनि बताए । उनले मङ्सिर ४ आउन पाँच दिन रहेकाले पार्टी सम्पर्कमा आएर पार्टी निर्णय अनुसार दृढतापूर्वक काम गर्न बागीका सहयोगीहरुलाई आग्रह गरे । बागी उम्मेदवारलाई भेडाको संज्ञा दिदै ज्वालाले भीर ताकेर हिडेको भेडोको पछि लागेर गए दुर्घटना हुने बताए ।

एमालेको केन्द्रीय निर्णय विरुद्ध बागी उम्मेदवारी दिएका धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोप्रति लक्षित गर्दै ज्वालाले भने,'उहाँलाई पार्टीले उपमेयर बनायो, मेयर बनायो र सांसदको टिकट पनि दियो, तर आज पार्टी निर्णयको सम्मान गर्न नसकेर पार्टीविरुद्ध लाग्नु भयो।'

सत्ता गठबन्धनलाई भोट दिनु भनेको भारतीयलाई दाहिने हातले सिन्दुर र देब्रे हातले नगरिकता दिनु र  एमसीसी पास गर्नेहरुलाई अनुमोदन गर्नु भएको पनि बताए । यस्तै, गठबन्धनलाई मत दिदा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई बुझाउने भारतीय कम्फर्टेबलहरुको पक्षमा उभिएको हुने भएकोले राष्ट्रको सार्वभौम सत्ता बचाउन खोज्ने, सीमा रक्षा गर्न खोज्ने र मुलुकलाई समृद्ध र सुखी बनाउछु भन्ने पार्टीलाई मात्र भोट दिन आग्रह गरे ।