धरान: लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले धरान र निर्वाचन क्षेत्रलाई नै समृद्ध बनाउन पर्यटनलाई केन्द्रमा राखेर पुर्वाधार विकास गर्नुपर्ने बताएका छन् ।

भानुचोकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले पर्यटनबाट नै समृद्धि हासिल हुने भएकोले गुरुयोजना बनाएर पर्यटनको प्याकेज तयार गर्ने पनि बताए । पर्यटनलाई केन्द्रमा राखेर सडक पुर्वाधार तयार गर्ने, पर्यटनलाई केन्द्रमा नै राखेर खानेपानी र विजुलीको व्यवस्थापन गर्ने पनि बताए । यस्तै, पर्यटनलाई केन्द्रमा राखेर कसरी सेवा, सत्कार गर्ने भनेर जनतालाई शिक्षित बनाउनुपर्ने उनले बताए ।

धरान बक्लौरी, धरान भरौल, चतरा हुदै सुर्यकुण्ड, चियाबारी भञ्ज्यांग धरान आउने सडक, विष्णुपादुका मन्दिर हुदै धरान १३ जोड्ने सडकलाई कालोपत्रै निर्माण सम्पन्न गरेमा पर्यटकहरुको आवागमन बढ्ने र व्यापार, व्यवासाय पनि वृद्धि हुने मेन्याङ्बोले बताए । ‘बाटो सहज भएपछि सिटी, टेम्पो चल्छ । पर्यटकहरु घुम्न आउछन्, रोजगारी बढ्छ । त्यस क्षेत्रमा चिया बेचेर भएपनि गुजारा चल्छ,’उनले भने,‘सडक पुर्वाधार बनेर पर्यटक आउदा विष्णुपादुका डाँडा, वडा ४ को भडेटार मुनि, दानाबारी, हर्दिया तिर होम स्टे खुल्छ, स्थानीयको जीवनस्तर पनि उस्कन्छ ।’ खानेपानीलाई दीर्घकालिनरुपमा समाधान गर्न स्थानीय जनप्रतिनिधिसँग सहकार्यं गर्ने पनि उनले बताए । 

यस्तै, उनले यो क्षेत्रमा विभिन्न जातजाति, भाषाभाषीहरुको बसोबास भएकोले साँस्कृतिक केन्द्र खोलेर मौलिक सँस्कृति प्रस्तुत गर्ने योजना पनि अघि सारे । देशभित्र र बाहिरबाट पर्यटकहरु घुम्न आउदा ती सँस्कृतिहरु प्रस्तुत गरेर पर्यटनमार्फत समृद्धि भित्र्याउनुपर्ने उनले बताए । मेन्याङ्बोले किमाथांका जोड्ने सडकको लागि पर्याप्त बजेट विनियोजन गराएर चाडो सम्पन्न गर्ने र तमोर करिडोरलाई पनि छिटो सम्पन्न गराउन पहल गर्ने बताए । यी दुवै सडक चीनसँग जोडिने भएकोले धरान त्रिदेशीय ट्रान्ञ्जिट बन्ने उनले बताए । 

उनले खोलाहरुले बर्षेनी धनजुनको क्षति गरिरहेकोले नियन्त्रण गर्न बिशेष योजना बनाएर अघि बढ्ने बताए । यस्तै, सुरक्षाको लागि अधिकतम उच्च प्रविधि प्रयोग गर्नुपर्ने भन्दै उनले महत्वपुर्ण ठाउँहरुमा सिसि क्यामेरामार्फत निगरानी बढाउने र टास्क फोर्स बनाएर अत्यावश्यक ठाउँमा ५, १० मिनेटभित्र प्रहरी पुग्ने व्यवस्था गर्ने पनि उनले बताए । चुनावी आमसभालाई गठबन्धनका प्रदेशसभा १ (१) का उम्मेद्वार नेपाली कांग्रेसका उमेश थापा र प्रदेशसभा १(२) का उम्मेद्वार नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईले पनि सम्बोधन गरेका थिए । उनीहरुले विगतमा जितेर पठाएका पार्टीका उम्मेद्वारहरुले केही काम गर्न नसकेकोले यसपाली आफुहरुलाई भोट दिएर जिताउन आग्रह गरेका थिए ।