धरान: पाक कलाको विकास गर्न आयोजित २१ दिने कलिनरी वर्कशप धरान ईन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टमा आज शुक्रबार सम्पन्न भएको छ । 

स्वीट्जरल्यान्डका एक्जेक्युटिभ सेफ गुनथर नट्जको प्रशिक्षणमा सम्पन्न तालिममा विद्यार्थीले इटालियन तथा कन्टिनेन्टल परिकार, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायतका सिप सिकेका थिए । समापनको बेला कलेजले अतिथीहरुलाई एपटाईजर्समा पटाटो सुप, सलाद, मेन कोर्समा हर्ब राईस, प्यान चिकन विद भेजटेबल्स प्रस्तुत गरेका थिए ।  

hotel1

तालिमको औपचारिक समापन भए पनि सेफ नट्जलाई भने मगलबार मात्र विदाई गरिने कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले बताए । ८ वर्ष अगाडी स्थापना भएको कलेजमा हाल ४२ जना विधार्थी अध्ययनरत रहेको र कलेजबाट हालसम्म साढे ३ सय भन्दा बढी विधार्थी हस्पिटालिटी क्षेत्रमा कार्यरत रहेको उनले जनाए । 

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा युवा नेता भिमज्वाला राई, नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष जनकॠषि राई, उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, डा. विकाश शाह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम २१ दिने तालिमका कोअर्डिनेटर सन्जिव बान्तवाले सचालन गरेका थिए ।