धरान: १७ औं ललित अम्वर डिपो कपमा धरान लिगामेन्ट, हिमशिखर तरहरा, इमानुयल र चिल्ड्रेन एकेडेमी विजयी भएका छन् ।

 आज तेस्रो दिन आइतवार भएको खेलमा लिगामेन्ट स्कुलले हिविकस स्कुललाई १–०, हिमशिखर तरहराले नोवेल स्कुललाई ७–०, इमानुयल स्कुलले दिल्ली पव्लिक स्कुललाई २–० र देउराली चिल्ड्रेन एकेडेमीले विष्णु मेमोरियललाई २–० गोल अन्तरले पराजित गरेको छ। 

पहिलो खेलमा लिगामेन्ट स्कुलका प्रज्वल गुरुङ्गले निर्णायक गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । दोस्रो खेलमा हिमशिखरका प्रमेश मगरले ३, रिजन चौधरी १, असिम भट्टराई १, ओसिस कार्की १ र नोवेलका रिदम लिम्वुले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए ।

 तेस्रो खेलमा इमानुयलका पोषण बुढाथोकी र विश्वास राईले गोल गरे । चौथो खेलमा देउराली चिल्ड्रेनका असव बिकले दुवै गोल गर्दै टिमलाई जित दिलाए । पहिलो चरणको खेलमा हारसँगै हिविकस, नोवेल, दिल्लि पव्लिक र विष्णु मेमोरियल स्कुल लेट दिलकुमार प्लेट च्याम्पियनमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो चरणमा पराजित ८ टिमले दिलवहादुर प्लेट च्याम्पियन खेल्नेछन् ।

 आइतवार भएको खेलको म्यान अफ द म्याच हिविकस स्कुलका गोलकिपर प्रज्ञान राई, नोवेल स्कुलका गोलकिपर समिर तामाङ्ग, दिल्लि पव्लिक स्कुलका सुयोङ्गा मिश्र र विष्णु स्कुलका महसुस पाण्डे घोषित भए । उनीहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो।

      मंसिर १६ गतेसम्म हुने प्रतियोगितामा सुनसरी भरिका १६ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडि र हाइ स्कोररले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि, लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार र उपविजेतालो नगद २ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भोली सोमबारको खेल आयोजक डिपो र इस्र्टन एकेडेमि र नेपाल पुलिस र प्रभात स्कुल विच प्रतिस्पर्धा हुनेछ ।