धरान: इञ्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस, धरानमा पाँचौं वृहत टेक्निकल फेस्ट एसेस ५.० आयोजना हुने भएको छ । 

क्याम्पसको कम्प्युटर संकायको विद्यार्थी समाज (एसेस)को आयोजनामा पुष ३ गतेदेखि ६ गतेसम्म टेक फेस्ट हुन लागेको हो । कम्प्युटर संकाय चौथो वर्षमा अध्ययनरत एसेस ९औँ कार्यसमितिका अध्यक्ष रजिश खतिवडाका अनुसार शिक्षा र प्रविधिको परिधिलाई वृहत्तर बनाउने उद्देश्यले टेक फेस्ट आयोजना गरिन लागेको हो । कार्यक्रमलाई प्रभु बैंकले प्रायोजन गर्ने भएको पनि उनले बताए । 

काठमाडौँ बाहिर रहेको इन्जिनियरिङ क्याम्पसमध्ये एक रहेको यो क्याम्पस पूर्वको महत्वपुर्ण क्याम्पस हो । एसेस टेक फेस्ट कार्यक्रमबाट २ हजारं विद्यार्थीहरुले प्रत्यक्ष र अनलाईन मार्फत देशभरिबाट २० हजार भन्दा बढी विद्यार्थीहरु लाभान्वित हुने पनि अध्यक्ष खतिवडाले बताए । कार्यक्रममा हुने विभिन्न अनलाइन इभेन्टमा देश भरिबाट भाग लिन सकिने पनि उनले बताए । 

विगत चार संस्करणको सफलतापुर्वक आयोजना भएको र यो बर्ष पनि पूर्वाकै ठूलो टेक फेस्ट आयोजना हुने खतिवडाले बताए । टेक फेस्टको मुख्य कार्यक्रमहरुमा ह्याकाथोन, लाइभ कोडिङ्ग, लाइभ डिबगिङ्ग, इआरसी क्वीज, कम्पिटिटिभ टाइपिङ्ग, आइडियाथोन, क्याप्चर द फ्लाग हुनेछ भने प्रि इभेन्टहरु प्रोग्रामिङ क्विज र डिजिटल आट कम्पिटिसन भइसकेको आयोजकले जनाएको छ । इभेन्टका विजेतालाई नगद, ट्रफी, गिफ्ट हेम्पर र प्रमाण पत्र लगायत उपहारहरुको व्यवस्था पनि रहेको छ । एसेसले गर्ने विभिन्न कार्यक्रम र इभेन्टका बारेमा थप जानकारी एसेस को फेसबुक पेज (ACES - Association of Computer Engineering) र वेबसाइट मार्फत पनि लिन सकिने खतिवडाले बताए ।