धरान: गत बैशाखमा स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयर हर्क साम्पाङ विजयी हुँदा एमालेबाट प्रत्यासी मञ्जु भण्डारी तेस्रो भएकी थिइन् । 

उक्त निर्वाचन परिणाम पछिको ९ महिनामा मेयर साम्पाङ र एमाले पार्टीबीच सम्बन्ध सुमधुर हुन सकेन । अझ बराह सहकारी संघर्ष समितिको आन्दोलनको क्रममा मेयरको कार्यकक्षमा तोडफोड भएपछि त एमालेसँगको सम्बन्धमा झनै तिक्तता बढ्यो । नेतृ भण्डारीको चुनावी प्रचारको तस्बिर अंकित संघर्ष समितिका अध्यक्ष खगेन्द्र नेपालीको तस्बिर पोष्ट गरेपछि एमाले र मेयर साम्पाङबीचको फेसबुक वारमा मात्र सिमित रहेन । नेतृ भण्डारीले साइबर अपराधबारे सिआइबीमा नै उजुरी गरिन् ।

एमाले नेतृ भण्डारी मेयरका प्रत्यासी मात्र होइनन्, उनी पार्टी केन्द्रीय कमिटी सदस्य पनि हुन् । बैशाखको निर्वाचन पछि जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउदा एउटै मञ्च सेयर गरेयता मेयर साम्पाङ र नेतृ भण्डारी कुनै पनि औपचारिक कार्यक्रममा एउटै मञ्चमा देखिएका थिएनन् । 

हिजो बिहिबार भने धरान वडा नं ३ स्थित चन्द्रपुर बजार जल्पा रोड उद्घाटन र आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्घाटन कार्यक्रममा मेयर साम्पाङ र एमाले नेतृ पहिलो पटक मञ्च सेयर गरे । हुन त धरान उत्सवको उद्घाटन समारोहमा पनि पुर्वउपमेयरको हैसियतमा नेतृ भण्डारी मञ्चमा थिइन् । तर, त्यो बेला भण्डारीले मन्तव्य गर्ने अवसर पाएकी थिइनन् ।

chandra-bajar

चन्द्रपुर बजार जल्पा रोड कालोपत्रे सडकको इतिहास धरानको स्थापनासँगै जोडिएको छ । वि.स.१९५७ सालमा चन्द्र शम्सेर राणले धरानको चन्द्रपुर बजार बसाएका थिए । चन्द्रपुर बजार नै अहिलेको पुरानो बजार हो । त्यही ऐतिहासिक चन्द्रपुर बजारको बाटो कालोपत्रे सम्पन्न भएपछि धरान उत्सवकै अवसरमा बिहिबार उद्घाटन गरिएको हो । धरानको स्थापनाको इतिहाससँगै यो चन्द्रपुर बजार जल्पारोड बाटोको इतिहास पनि १२२ बर्ष भएको छ ।

यो सडकलाई कालोपत्रे गर्न तत्कालिक कार्यवाहक मेयर हुँदा मञ्जु भण्डारीले पहल गरेकी थिइन् । यो सडक २ करोड ३१ लाख ७८ हजार रुपैया बजेटमा तयार भएको हो । भण्डारीले जनसहभागिताको अवधारणा कार्यन्वयन भइरहदा जनताले सधै पैसा लगानी गरिरहनु पर्दा मर्का पर्ने गरेको आफुले अनुभूति गरेको बताइन् । त्यही भएर जनसहभागिता विना नै यो सडक निर्माण गरिएको उनले बताइन् । यो सडकसँगै धरान १६ को जनपथ र धरान १५ को आडा लाइनको सडक पनि जनसहभागिता विना केन्द्र सरकारको बजेटबाट निर्माण भएको उनले बताइन् ।

chandra-bajar1

आफुले ५ बर्ष उपमहानगरमा रहदा विकासको काम गर्ने प्रयास गरेको भन्दै अब जनताले ५ बर्ष चुप लाग्नुस् भनेर मेयर हर्क साम्पाङलाई जिताएकोले काम गर्ने अवसर उनलाई भएको पनि नेतृ भण्डारीले बताइन् । उनले ३० फिटभन्दा माथिको बाटो एडिबिले बनाइदिने भएकोले सहजीकरण गर्नुपर्ने पनि बताइन् । नगर र नागरिक मिलेर नै नगरलाई समृद्ध बनाउने उनले बताइन् ।

मेयर साम्पाङले पनि आफु भन्दा अघिल्लो नेतृत्वले गरेको असल कामहरुलाई निरन्तरता दिइने बताए । जनताको मुल्यांकनमा आशातित प्रतिफल दिन नसकेको कुरालाई मात्र छोड्ने उनले बताए । जनतालाई भएको पीरमर्का, जनतालाई सेवासुविधा नपुगेको भन्ने कुरालाई छोड्ने उनको भनाई थियो । धरानको समग्र विकास आफुहरुको प्राथमिकता भएको पनि मेयर साम्पाङले बताए । 

भिडियो: