धरान:धरानको कार्यपालिका बैठकले वडा नं २० मा बेसार उद्योग स्थापना गर्ने निर्णय गरेको छ । 

आज (बिहिबार) बसेको कार्यपालिका बैठकले वडा नं २० मा उपयुक्त स्थान खोजेर उद्योग स्थापना गर्ने निर्णय गरेको हो । मेयर हर्क साम्पाङले वडा २० मा बेसार उद्योग बनाउने योजना अघि सारेका छन् । उनले यसअघि नै वडा अध्यक्ष पदम लिम्बुसँग उद्योग स्थापनाको लागि स्थलगतरुपमा जग्गा पनि हेरिसकेका छन् । वडा २० को कटहरेमा स्थानीयले उद्योग स्थापना हुने भए जग्गा दिन सहमत पनि भइसकेका छन् । 

भञ्ज्याङ निवासी समाजसेवी ओम सुच्चा राईका अनुसार कटहरेमा शेरबहादुर लिम्बु र सुरेन्द्र लिम्बु दाजुभाईले उद्योगको लागि जग्गा दिने भएका छन् । उनीहरुले आफ्नो बाजेको नाममा भएको जग्गा उद्योगलाई दिने सहमति जनाएको राईले बताए । प्राविधिकहरु पुगेर नापजाँच गर्दा ७ कट्टा बढी जग्गा देखिएको पनि उनले जानकारी दिए ।

मेयर साम्पाङले वडा २० मा नै यसअघि माया धराने साबुन उद्योग पनि स्थापना गर्ने योजना अघि बढाएका थिए । साबुन उद्योगको लागि छनौट गरिएको जग्गामा वन कार्यालयसँग स्वामित्वको विवाद भएको थियो । गिट्टी कुट्ने श्रमदान अभियान चलिरहदा वन कार्यालयले भोगाधिकर नलिई काम गरेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको थियो । आदालतबाट भोगाधिकार प्राप्त नभएसम्म काम नगर्नुं भन्ने अन्तरिम आदेश जारी भएपछि उक्त जग्गाभित्र श्रमदानको काम स्थगित भएको छ ।