धरान: बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै परिवारसँग बार्गेनिङ गर्ने र ठगी गर्ने आरोप लागेकी शान्ता खड्का पक्राउ परेकी छिन् ।

प्रहरीले खड्कालाई आज बिहान धरान १४ विजयपुरस्थित निवासबाट पक्राउ परेको हो । उनीविरुद्ध ठगीको मुद्दा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत आएपछि खड्का फरार भएकी थिइन् ।ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले खड्का पक्राउ परेको पुष्टि गरे । उनले आइतबार म्याद थप गरेर अनुसन्धान शुरु गर्ने पनि जानकारी दिए । 

धरान १७ मा डेरा गरि बस्ने एक युवा बलात्कार आरोपमा थुनामा थिए । उक्त घटनाको साक्षी बसेकी महिलासँग मिलेर खड्काले वयान फेरेर छुटाइदिने भन्दै ती युवाको श्रीमतिसँग १० लाखको बार्गेनिङ गरेकी थिइन् । पटक पटक फोन गरेर पैसा मागेको र त्यसैको तनावले आरोपित युवाकी श्रीमतिको मृत्यु भएपछि मृतक परिवारले खड्काविरुद्ध प्रहरीमा ठगी उजुरी दिएको थियो ।

यसैगरि, खड्काले महिला सञ्जाल धरानको नाम लिएर विभिन्न घटनाहरुमा बर्गेनिङ गर्ने गरेको भन्दै सञ्जालले पनि उनीविरुद्ध प्रहरीमा निवेदन दिएको थियो । सञ्जालले पत्रकार सम्मेलन गरेर नै खड्का सदस्य नभएको र उनले सञ्जालको नाम लिएर बार्गेनिङ गर्ने गरेकोले सचेत रहन आम सर्वसाधारणलाई आह्वान पनि गरेको थियो । शुरुमा पैसाको बार्गेनिङ गर्ने र नपाएपछि जर्बजस्ती करणीको मुद्दा लगाएर खड्काले थुनाउने गरेको आरोप लाग्दै आएको थियो ।