धरान: धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नम्बर ११ र वडा १७ क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

बिहिबार भएको पहिलो खेलमा वडा ४ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा ११ क्वाटर फाइनलमा प्रवेश गरेको हो । वडा ११ को लागी दिनेश राई र धिरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच वडा ४ का सरोज लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । 

बिहिबार नै भएको दोस्रो खेलमा वडा ७ लाई ६–० गोल अन्तरले पराजित गर्दै वडा १७ पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । वडा १७ को लागी साहिल राई, मिलन राई र कृष्ण राईले २/२ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा १७ का साहिल राई घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । 

भोली (शुक्रबार) हुने पहिलो खेल दिउसो १ बजे वडा १५ र वडा १२ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल वडा २० र वडा १९ बीच हुनेछ । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार पुरस्कार पाउनेछ । गोधुली क्लबले आयोजना गरेको प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका छन् ।