धरान: विविध कार्यक्रमहरु आयोजना गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीको स्पोर्टस् मिट २०७९ सम्पन्न भएको छ । 

स्पोर्टस् मिट अन्तर्गत नृत्य प्रतियोगितामा इटहरीको बिश्वआदर्श कलेज प्रथम भएको छ । धरान १६ स्थित सियोन स्कूलमा शनिबार सम्पन्न समापन समारोह तथा नृत्य प्रतियोगितामा सहभागी १० वटा शिक्षालयलाई पछि पार्दै बिश्वआदर्श प्रथम भएको हो । प्रतियोगितामा धरान आदर्श माबिले द्धितिय स्थान हासिल गरेको छ भने इटहरीको पूर्वाञ्चल माबि तेस्रो भएको छ । धरान मेघा हिमालयन कलेजले सान्त्वना स्थान हासिल गरेको छ । 

बिजयी बिद्यार्थीहरुलाई हिसानका केन्द्रिय अध्यक्ष रमेश शिलवाल, सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, सल्लाहकार केशव खड्का लगायतले शिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । 

Hisan1

यसैबीच, हिसान सुनसरीले यस बर्षको हिसान रत्न सम्मानबाट धरान उच्च माबिका संस्थापक तारा बहादुर निरौलालाई सम्मान गरेको छ । समापन समारोहमा निरौलालाई लामो समयदेखी सुनसरीको शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै सम्मान गरिएको कार्यक्रम संयोजक हेमन्त भण्डारीले जानकारी दिए । 

माघ ६ गतेदेखी औपचारिकरुपमा सुरु भएको खेल महोत्शव स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, सेपाकताक्रो र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । यसअघि गत महिना ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, बक्तृत्वकला, हाजिरीजवाफ र कबिता प्रतियोगिता सम्पन्न भएको भण्डारीले जानकारी दिए । यसबर्ष हिसान रन समेत आयोजना गरिएको थियो । हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरीका २ हजार २ सय बिद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएको हिसान सुनसरी अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिए ।