धरान: कोशी राजमार्ग धरानको बजार क्षेत्रमा ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने निर्णय नहुदै उपमहानगरपालिकाले भने ७२ फिट वा ८० फिट मापदण्डमा विस्तार गर्न पहल थालेको छ । 

आइतबार धरानका मेयर मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरु आफै कोशी राजमार्ग नापजाच गर्न सडकमा निस्किए । उनीहरुले तीनकुनेदेखि भानुचोकको घण्टाघरसम्म सडक ७२ फिट र ८० फिटमा मार्किङ गरेका छन् । तीनुकनेसम्म विस्तार भएर आएको कोशी राजमार्ग तीनकुनेदेखि जिरोपोइन्टसम्म करिब ५ किलोमिटर भने विस्तार भएको छैन ।

बजार क्षेत्रमा ६ लेन बनाउदा ठुलो भौतिक क्षति पुग्ने भएपछि काम शुरु भएको छैन । रानी, विराटनगर, इटहरी, धरान सडक आयोजनाले धरान क्षेत्रमा दाँया बाँया २५ २५ मिटर अर्थात १०० फिट मापदण्ड अनुसार विस्तार गर्न सडक खाली गराइदिन भन्दै उपमहानगरपालिकालाई पत्राचार गरेको थियो । उपमहानगरपालिकाले भने भानुचोकसम्म ७२ फिट मात्र सडक बढाउनु भन्दै पत्र पठाएको छ । 

koshi highway1

कम्तीमा ७२ फिट बढाउने र सम्भव भए ८० फिटसम्म सडक बढाउने भन्दै मेयर साम्पाङ र वडाअध्यक्षहरुले आइतबार नापजाँच गरेका हुन् । .सडक आयोजनाले भनेजति वा ६ लेन सडक विस्तार गर्दा धरानको बजार क्षेत्रमा ठुलो भौतिक क्षति हुने भएकोले कोशी राजमार्गको ६ लेन सडक बाइपास गर्नुपर्ने स्थानीयको माग छ । भानुचोक नजिक पुरानो कर कार्यालयसम्म ७२ फिट मापदण्डमा घर तथा भौतिक संरचना बनेको छ भने भानुचोक मास्तिर ५० फिट मापदण्डमा मात्र घरहरु बनेका छन् । 

भानुचोकसम्म नापजाँच गर्दा कसैको पनि पुरा घर भत्किएर सुकुम्बासी हुने स्थिति नदेखिएको भन्दै मेयर साम्पाङले ७२ वा ८० फिट मापदण्डबारे निर्णय लिने बताए । अब लिइने मापदण्ड नै अन्तिम हुने भन्दै उनले त्यो भन्दा बढी हुने भए फ्लाईओभर बनाउनुपर्ने पनि बताए । संघर्ष समितिका अनुसार तीनकुनेदेखि जिरोपोइन्टसम्मको ५ किलोमिटर सडकमा ६ लेन सडक(२०४ फिट) विस्तार हुदा ४६ अरब हाराहारीमा भौतिक सम्पत्ति क्षति पुग्छ । उक्त क्षेत्रमा कम्तीमा पनि १५ सय घरहरु भत्काउनुपर्ने हुन्छ ।

भिडियो: