धरान: उपप्रधान, भौतिक तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरेर धरानको एक टोलीले सडक निर्माणको लागी आवश्यक बजेट माग गरेको छ । 

पर्यटन व्यवसायी तथा सेक्ष एड्भेञ्चरका सञ्चालकद्धय वासुदेव वराल, एलिना मगर, धरान २० का राजनीतिककर्मी सम्फर तामाङ, नेताहरु निर्मल बराल, राम कोइरालासहितको टोलीले मन्त्री श्रेष्ठसँग बिहिबार भेट गरेको हो । भेटको क्रममा धरान १३ देवीमार्ग हुदै चिण्डेडाँडा, सुलिकोट भएर धनकुटा जोड्ने मार्गको डिपिआर पेश गरिएको थियो भने आवश्यक बजेटको माग पनि गरिएको थियो । 

धरान उपमहानगरपालिकाको सिफारिशसहित डिपिआरसमेत पेश भएपछि मन्त्री श्रेष्ठले आवश्यक प्रक्रियाको लागी तोक लगाइदिएको पर्यटन व्यवसायी वरालले जानकारी दिए । उनका अनुसार यो बाटो १०.७५ किलोमिटर लामो रहेको छ । यो सडकको डिपिआर प्रदेश सरकारले तयार गरेको थियो । डिपिआर अनुसार सडक निर्माणमा ३४ करोड लागत अनुमान गरिएको छ । 

यस्तै, मन्त्रालयमा धरान १६ को जोरसखुवाको झोलुंगे पुलमा पक्की पुल निर्माण गर्न र त्यहाँबाट कार्कीछाप हुदै चिण्डे डाँडा निस्किएर विष्णुपादुका मन्दिर जाने सडकको लागी पनि आवश्यक बजेट माग गरिएको छ । यो बाटोको पिटिआर (प्रारम्भिक अध्ययन प्रतिवेदन) पनि पेश गरिएको थियो । मन्त्री श्रेष्ठले दुवै फाइलमा तोक लगाइदिएको र फाइल मन्त्रालयका सचिवलाई बुझाएको पनि वरालले जानकारी दिए । त्यसपछि, योजना आयोगमा पनि पुगेर डिपिआरको बिषयमा पहल गरेको पनि उनले बताए । ‘योजना आयोगमा पनि अनुरोध गर्यौं, सम्भव भएसम्म अगाडि बढाइदिन्छौं भन्नुभएको छ,’उनले भने,‘प्रदेश सरकारसँग बजेट नभएर नै केन्द्र गएका थियौं । केन्द्रबाट काम हुन्छ भन्नेमा हामी आशावादी छौं ।’ वरालले शुक्रबार पर्यटन मन्त्री सुदन किरातीसँग पनि भेट गरेर बजेटको लागी पहल गर्न आग्रह गर्ने जानकारी दिए । 

chinde dada1