धरान: पुस्तक पसल र कपडा पसलहरुसँग निजी विद्यालय सञ्चालकहरुले मिलेमतो गरेर तोकिएकै पसलबाट मात्र शैक्षिक सामग्री खरिद गर्न अभिभावकहरुलाई बाध्य बनाउने गरेका छन् । 

अधिकांश विद्यालयहरुले कमिशनको लोभमा यस्तो कार्य गर्ने गरेको भन्दै अभिभावकहरुले गुनासो गरेपनि यो प्रथा अझै हटेको छैन । अभिभावकहरुले आफ्ना सन्तानलाई आफुले चाहेको पसलबाट पुस्तक र स्कुल ड्रेन किन्न पाउदैनन् । यो गुनासो धेरै आएपछि र अभिभावक संघले पनि स्मरण पत्र बुझाएपछि बिहिबार मेयर हर्क साम्पाङले धरानका संस्थागत (निजी) विद्यालयहरुलाई पत्रचार गर्दै कडा निर्देशन जारी गरेका छन् । 

मेयर साम्पाङले नयाँ शैक्षिक सत्र शुरु हुन लागेकोले विगतका बर्षहरुमा जस्तो पुस्तक, ड्रेस, ब्यागजस्ता शैक्षिक सामग्रीहरु खरिद गर्न कुनै एउटा पसल तोकेर खरिद गर्न बाध्य पार्ने कार्य नगर्न निर्देशन दिएका छन् । मेयर साम्पाङले शैक्षिक सामग्रीहरु खरिद गर्ने सम्बन्धमा ड्रेस, पुस्तक आदिको विवरण उपलब्ध गराउने र अभिभावक तथा विद्यार्थीले आफुले चाहेको पसलबाट किन्न सक्ने व्यवस्था गर्न निर्देशन दिएका छन् । साथै उनले विद्यालयले लिने शुल्क पनि आफु खुशी वृद्धि नगर्न निर्देशन दिएका छन् । शैक्षिक सामग्री र शुल्कवृद्धिबारे कतैबाट गुनासो आए वा अनुगमनको क्रममा निर्देशन उल्लंघन गरेको पाए कानुन वमोजिम कारबाही हुने पनि निर्देशन पत्रमा उल्लेख गरेका छन् । 

school