धरान: मेयर हर्क साम्पाङले धरान ५ तल्लो देउरालीमा निर्माणाधिन हेल्थ करिडोर खोला मिचेर बनाउन नदिने अडान दोहोर्याएका छन् ।

खोला मिचिएको भन्दै मेयर साम्पाङले तत्काल काम रोकेर तारजाली सार्न निर्देशन दिएपछि स्थानीयले सोमबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएका थिए भने विकासको काम अवरोध गरेको आरोप लगाएका थिए । आज बिहान मेयर साम्पाङले पनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खोला मिचेर करिडोर बनाउन कुनै पनि हालतमा नदिने अडान दोहोर्याए । उनले भोट दिएको भन्दैमा, श्रमदानमा आउदैमा गलत काममा आफुले साथ नदिने पनि बताए ।

मेयर साम्पाङले करिडोर खोलातिर बङ्ग्याएर तटबन्ध गर्नुको कारण के हो ? भन्दै प्रश्न पनि गरे । साथै उनले प्रकृतिमा मान्छे मात्र बाँच्नुपर्छ भन्ने सोच पनि गलत भएको बताए । ‘करिडोर खोलातिर मिचेर जग्गा भने घेराबारा गरेर राखिएको छ । प्रकृतिमा मान्छे मात्र बाँच्ने हो त ?’उनले भने,‘खोलानाला, वनजंगल चाहिदैन ? त्यसलाई पनि बचाउनुपर्छ । मेरो कार्यकालभरि खोला मिच्न दिदैनौं ।’

स्थानीयले विकास विरोधी आरोप लगाएकोमा पनि मेयर साम्पाङले प्रष्टीकरण दिएका छन् । उनले विगत ११ महिनादेखि किवास गर्न भन्दै ढुंगा बोकीरहेको तर विकास विरोधी भनेर भ्रम फैलाउने काम गरेको पनि बताए । ‘मलाई अन्यथा नमान्नु, विकास विरोधी होइन । जो ११ महिनादेखि विकास गर्ने भनेर ढुंगा बोकीरहेको छुँ, खोला नाला, जंगलै भेटिन्छुँ । म कसरी विकास विरोधी ?’उनले भने,‘तर खोला मिचेर कदापी जग्गा निकाल्न दिइदैन । तर तटबन्ध हुन्छ, रोक्दैनौं । अहिले जाली बिछ्याएको छ, त्यसलाई सारेर काम अघि बढाउनुपर्छ । खोलाको वहाव पनि नरोक्ने, वस्ती पनि जोगाउने गरि काम गर्नुपर्छ ।’

भिडियो: