धरान: बषौंदेखि पानीको अभाव खेप्दै आएका धरान उपमहानगरपालिकाको वडा नं १७ मा पर्ने पटनालीबासीहरुलाई अहिले भने निक्कै खुशी भएका छ्न् ।

गोर्खा वेल्फेयरले बोरिङ गरेपनि परीक्षण र उपयोग हुन नसकेको वेलबाट सफललतापुर्वक पानी उत्पादन भएर ट्यांकीमा थपिने भएपछि पटनालीबासीको खुशीको सिमा छैन । झण्डैं ८ बर्षअघि वेल्फेयरले खनेको वेलबाट अहिले इटहरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पम्पमार्फत पानी परिक्षण गरिसकेको छ । उक्त पानीलाई ट्यांकीमा पुर्याउन विजुलीको मिटर जडान पनि भइसकेको छ भने पाइप पनि विछ्याइसकिएको छ । 

शुक्रबार उपमेयर अइन्द्रबिक्रम बेघाले स्थलगत अवलोकन गरेका थिए । पानी उत्पादन भएकोमा खुशी व्यक्त गर्दे उपमेयर बेघाले पटनालीबासीहरुको तिर्खा मेट्ने आशा व्यक्त गरे । उनले भने, ‘एकदमै खुशी छौं । पटनालीबासीको समस्या हल हुन्छ । अझै के गर्न सकिन्छ, सहयोग गछौं ।’

नन्दपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र गिरीका अनुसार पटनालीमा ४ सय हाराहारीमा घरधरी छन् । सबैको घरमा पानीको मिटर जोडिएको छ । समितिले ३ वटा जति खोलाबाट पानी जोडेपनि चैत, बैशाखमा पानीको अभावले धेरै समस्या हुने गरेको उनले बताए । ‘एकदमै अभाव छ पानीको । यो बोरिङको पानी ट्यांकीमा मिसाउन सकियो भने धेरै राहत हुन्छ,’उनले भने ।

patnali water

खानेपानी डियभिजनका इञ्जिनियर सन्दीप उदासका अनुसार २ लिटर प्रतिसेकेण्ड पानी उत्पादन भएको छ । यो पानीले करिब १२ सय घरधुरीलाई पानी पुग्ने अनुमान गरिएको उनले बताए । इञ्जिनियर उदासका अनुसार केही दक्षिण क्षेत्रमा पम्प गरेर पानी उत्पादन गर्न सर्वे पनि भइसकेको छ । अब बजेटको व्यवस्थापन भएमा त्यहाँबाट पनि बोरिङ गर्न सकिने उनले बताए । 

वडा सदस्य तथा जिल्ला समन्वय समितिकी सदस्य शेषकुमारी घिमिरेका अनुसार शुक्रबार विजुलीको भेल्टेज कम भएकोले पानी ट्यांकीसम्म पुग्न भने सकेन । फोर फेजको विजुली अवश्यक भएकोले विद्युत प्राधिकरणबाट व्यवस्थापन गरेर जडान गरिने उनले बताइन् । ‘फोर फेजको लाइन पनि छ, त्यो जडान गर्नुपर्ने भएको छ । हामी त्यो जोड्नतिर लाग्छौं,’उनले भनिन् । 

भिडियो: