धरान:एसईई परीक्षाको क्रममा मोरङको विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेका नक्कली परीक्षार्थी र सञ्चालक धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका डल्फिन एकेमेडीका सन्तोष राई २ लाख धरौटीमा छुटेका छन् नक्कली परीक्षार्थीहरु नावालकबाहेक सबै ४० हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डिएसपी रञ्जनकुमार दाहालका अनुसार चैत १७ गतेदेखि शुरु भएको एसईईइ परीक्षामा विभिन्न परीक्षा केन्द्रहरुबाट डेढ सयभन्दा बढी नक्कली परीक्षार्थीहरु पक्राउ परेका थिए । 

उनका अनुसार सरस्वती मावि झोराहाटबाट ५४ जना पक्राउ परेका थिए । उनीहरुसहित सन्तोष राई बैशाख ११ गते अदालतमा पेश गरिएको र धरौटीमा छुटेका थिए । यस्तै, जनता मावि पचाममा पक्राउ परेका १५ जना नक्कली परीक्षार्थीहरुलाई बैशाख १२ गते अदालतमा पेश गरिएकोमा प्रतिव्यक्ति ४० हजारमा धरौटीमा छुटेको मोरङ प्रहरीले जनाएको छ । यस्तै, सरस्वती मावि केराबारीमा पक्राउ परेका १२६ जना नक्कली परीक्षार्थीहरु आज धरौटीमा छुटेका छन् । नाबालकबाहेक अरु सबै जनही ४० हजार धरौटीमा छुटेको पनि डिएसपी दाहालले जानकारी दिएका छन् ।