धरान:  बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले समन्वय नगरि काम नगर्न आग्रह गर्दै धरान उपमहानगरपालिकालाई पत्राचार गरेका छन् ।

धरानले बिहिबार पठाएको पत्रको जवाफ लेख्दै बराहक्षेत्रका मेयर कार्कीले धरानबासीलाई खानेपानी खुवाउने कुरामा पुर्णसमर्थन रहेको तर सहकार्य र समन्वय हुनुपर्ने फेरि दोहोर्याएका छन् । साथै, बराहका मेयर कार्कीले धरान उपमहानगरपालिकाको संस्थागत निर्णयको अपेक्षा गरेको पनि पत्रमा उल्लेख गरेका छन् । उनले दुवै स्थानीय तहबीचको सम्बन्ध सुमधुर बनाउन सहयोग तथा समन्वयको लागि अनुरोध गर्दै सामाजिक सञ्जालमा आत्मरति प्रस्तुत गर्नु शोभनिय नहुने पनि उल्लेख गरेका छन् ।

यो कुनै राजनीतिक बिषय नभएको भन्दै मेयर कार्कीले एउटा स्थानीय तहले अर्को स्थानीय तहमा कुनै पनि कार्य गर्नु गराउनुअघि अपनाउनुपर्ने आपसी समन्वय र सहकार्यको बिषय भएको पनि बराहका मेयरले पत्रमा उल्लेख गरेका छन् । उनले पत्रको वेवास्ता गरेर बराहक्षेत्र नगरपालिकासँग कुनै पनि समन्वय नगरि आफ्नो कार्य अघि बढाए आइपर्ने कानुनी लगायत अन्य सम्पुर्ण समस्याहरुको जिम्मेवार स्वयम धरान उपमहानगरपालिका रहने पनि उल्लेख गरेका छन् । 

यता, धरानका मेयर हर्क साम्पाङले शुक्रबार राती फेसबुकमा पोष्ट गर्दै बराहक्षेत्रका मेयरसँग भोली (शनिबार) सहमति हुने जानकारी दिएका छन् । मेयर साम्पाङले खुशी व्यक्त गर्दै भनेका छन्,‘सहयोगको लागि धन्यवाद, जय धरान, जय बराहक्षेत्र । वृहत श्रमदान हुनेछ । सायद उहाँले पनि सघाउनु हुनेछ ।’

baraha-press