धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बराहको वडा नं १ स्थित चावचामा पुगेर काम रोक्न भनेपनि धरानले भने नरोक्ने भएको छ । 

मेयर हर्क साम्पाङले पानी ल्याउने कुरामा कसैले अवरोध गर्न नमिल्ने भन्दै काम नरोक्न निर्देशन दिएका छन् । यसले दुई छिमेकी नगरबीच सम्बन्ध झन् बिग्रने र द्धन्द बढ्दै जाने देखिन्छ । मेयर साम्पाङले आज बिहान श्रमदाताहरुलाई सम्बोधन गर्दे पानी, बाटो जस्तो बिषयमा कसैले पनि अवरोध गर्न नहुने भन्दै बराहक्षेत्रका मेयरलाई काम गर्न दिन आग्रह गरेका छन् । 

मेयर साम्पाङले कसैलाई धरानको बाटो भएर हिड्न नपाउने भनेर धरानले पनि रोक्न नमिल्ने भन्दै बराहक्षेत्रले पनि पानी ल्याउन नदिने भन्नु उचित नहुने बताए । उनले धरानका हाइटेन्सन पीडितहरुको उदाहरण दिदै धनकुटातर्फ गएको ३३ केभी लाइनले धेरैलाई करेन्ट लागेर घाइते भइरहेको तर त्यही आधारमा धरानले विजुली नकाट्ने पनि बताए । ‘समन्वय गरेन भन्छ, मलाई थाह छैन डिप्लोमेसी ? अरु केही होइन, हर्क साम्पाङलाई कसरी रोक्ने भन्ने मात्र हो,’उनले भने,‘हाम्रो काम कुनै पनि हालतमा रोकिदैन, रोक्ने प्रयास नगर्नुस् । हाम्रो प्राण जोगाउन अक्सिजन पछि पानी चाहिन्छ, प्राण जोगाउन जे पनि गछौं ।’

इटहरी उपमहानगरसँगको सिमाना विवादबारे आयोजित पत्रकार सम्मेलनमा हाल बराहक्षेत्रले भोगचलन गर्दै आएको अमाहा सिमसार पनि धरानले दाबी गरेको थियो । यसले बराहक्षेत्र नगरपालिका पनि असन्तुष्ट बनेको थियो । बराहका मेयर रमेश कार्की आफ्नै हिजो चावाचा पुगेर तत्काल काम रोक्न र जिल्ला समन्वय समितिको रोहबरमा सम्झौता गरेर मात्र काम गर्न निर्देशन दिएका थिए ।