धरान: वचतकर्ताहरुको निक्षेप फिर्ता गर्न नसकेर संकटग्रस्त बनेको धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको सोमबार बिशेष साधारणसभा भएको छ ।

धरान ८ स्थित बराह मलमा आयोजित साधारणसभामा अध्यक्ष मानबहादुर विश्वकर्माद्धारा प्रस्तुत प्रतिवेदनमा सञ्चालक समितिमा बित्तीय व्यवसायको विज्ञता तथा कुशलता नभएको स्वीकार गरिएको छ । साथै, विज्ञको सुझाव तथा सहकारी सुचकहरु समेतको वेवास्ता गर्दै जबरजस्त सहकारीका सबै संयन्त्र सञ्चालन गरेकाल पनि सहकारी क्रमशः संकतग्रस्त बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष विश्वकर्माले संस्था संकटग्रस्त अवस्थामा आइपुग्नुमा अध्यक्षको हैसियतले जिम्मेवारी स्वीकार गरेका छन्, र सेयर सदस्य तथा वचतकर्ताहरुसँग माफी पनि मागेका छन् । ‘यसका लागि म संस्थाको अध्यक्षको हैसियतले पुर्णरुपमा जिम्मेवारी स्वीकार्दै सम्पुर्ण सेयर सदस्य तथा वचतकर्ता समक्ष क्षमा याचना गर्दै सबै प्रकारका वचत रकमहरु आगामी कार्ययोजना बमोजिम भुक्तानी गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछुँ,’प्रतिवेदनमा उल्लेख छ ।

संस्थामा पहिलादेखि नै केही समस्याहरु भएको र समाधान सहजरुपमा गर्न सकिन्छ भन्ने हिसाबकिताबले गर्दा सञ्चालक समिति त्यसप्रति गम्भीर बन्न नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । ऋण लगानीमा अनुशासित हुन नसक्दा ऋण अशुलउपरको दर न्युन भएको, ऋण लगानीको ठुलो हिस्सा बराहको व्यापार व्यवसायमा प्रवाह भएको र व्यवसायले २०७७ देखि नै कोभिडको समस्याका कारण न्युन भुक्तानी गर्न थालेपछि सहकारीमा समस्या गहिरिदै गएको पनि अध्यक्षको प्रतिवेदनमा जनाइएको छ । 

यस्तै, २०७८ असार मसान्तसम्म विभिन्न व्यवसायिक प्रतिष्ठानहरुबाट ८ करोढड २३ लाख बराबारको चेक आम्दानी बाँधेर पाउनुपर्ने भएपनि ती प्रतिष्ठानहरुको बैंक खातामा रकम नभएको कारण भुक्तानी लिन नसकिएकोले २०७८ साउनदेखि सहकारीमा तरलता समस्या गहिरिएको पनि प्रतिवेदनमा उल्लेख छ । 

संस्थाको समस्या समाधान गर्न अब बिषय विज्ञबाट सञ्चालन नीति अवलम्बन गर्ने, अधिकांश ऋण जोखिममा भएकोले असुल उपरको लागि उच्चस्तरीय संयन्त्र कायम गरी नियमनकारी निकायको सहयोग लिएर ऋण असुल गर्ने, सहकारी ऐन, नियम, निर्देशिका, मापदण्ड तथा आन्तरिक विनियमावलीको कडाईका साथ परिपालन गर्नेलगायत विभिन्न १० बुँदा उपायहरु पनि प्रतिवेदनमा उल्लेख छ। 

भिडियो :