धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसियु बेड नपाउने, खाली भएपनि भनसुन गर्नेले मात्र पाउने जनगुनासो धेरै छ । 

यही कुरालाई मध्यनजर गर्दै प्रतिष्ठानले अब आइसियु बेड खाली भए नभएको जानकारी डिजिटल बोर्डमार्फत दिन शुरु गरेको छ । मेयर हर्क साम्पाङसँगको भेटमा प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.सञ्जिव शर्माले आइसियु बेड खाली छ कि छैन भनेर डिजिटल डिस्प्लेमार्फत विरामीका आफन्तहरुले थाह पाउने जानकारी दिए । उनले भने,‘अहिले आइसियु बेड खाली छ कि छैन भनेर डिजिटल डिस्प्ले गछौं । विरामी, आफन्त आफैले हेरेर नै थाह पाउछन् । सोर्स लाउदा मात्र आइसियु बेड पाउछ भन्ने छ, अब त डिस्प्लेमा देखिसकेपछि खाली छैन भन्न मिल्दैन, खाली नै नभएको बेड दिन पनि सकिदैन ।’

प्रतिष्ठानमा कुल ७४ वटा आइसियु बेड छ । त्यसमध्ये १५ वटा कोभिड अस्पतालमा रहेको छ । बाँकी ५९ वटा बच्चादेखिकै आइसियु सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ । कोभिड अस्पतालको आइसियु बेड पनि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिएर सिफ्ट गरेर चलाउने तयारी भइरहदा कोभिडका विरामी आउन शुरु भएकोले रोकिएको पनि प्रा.डा.शर्माले जानकारी दिए । 

कार्यवाहक उपकुलपति शर्माले हेर्दा सानातिना देखिने तर सर्वसाधारणहरुलाई सहजता हुने गरि सुधारका कामहरु भइरहेको बताए । अहिले काउन्टर धेरै बनाएकोले विगतमा जस्तो पुर्जी काट्न धेरै बेर लाइनमा बस्नु नपर्ने उनले बताए । इर्मजेन्सीमा आएर औषधी किन्न तुरुन्त जान नपर्ने गरि प्याकेज सिस्टममै व्यवस्था गरिरहेको डा.शर्माले बताए ।  

bp1

अस्पताल निर्देशक डा.जगत प्रसादले विरामीहरुलाई उपचार सेवा सहज र प्रभावकारी बनाउन लागिपरेको बताए । पहिलाको अनलाइन टिकट दर्ता सिस्टम प्रभावकारी नभएकोले नयाँ सिस्टम लागु गर्ने तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ । अब विरामीले चाहेको विभागको कोठा नम्बरको कुन डाक्टरलाई देखाउने भनेर अनलाइनबाटै टिकट काटेपछि कुपन पनि तत्कालै पाउनेछन् । साथै, कति समयदेखि कति समयसम्म भनेर डाक्टरलाई भेट्ने समय पनि अनलाइनबाट नै व्यवस्था हुनेछ । ‘समय पनि यतिदेखि यति बजेसम्म भनेर विरामीले पाउछन्, यो हुने बित्तिकै ओपिडीको भीड मेनेज हुन्छ,’कार्यवाहक उपकुलपति प्रा.डा.शर्माले भने,‘पैसा तिर्ने क्युआर कोड पनि राखेका छौं । पहिला क्यास मात्र थियो । यो ठुला कुरा त होइन, तर पहिला नै हुनुपर्ने थियो, अहिले गर्दैछौं ।’

नगरपालिकासँग सहकार्य गर्ने

मेयर साम्पाङ र वीपीका पदाधिकारीहरुसँगको भेटमा सहकार्य गर्ने समझदारी पनि भएको छ । महिनामा एक पटक मेयर र पदाधिकारीहरुबीचमा भेटेर छलफल गर्नेबारे समझदारी भएको हो । धरानका मेयर वीपी प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) को पदेन सदस्य हुने व्यवस्था छ । 

मेयर साम्पाङसँगको भेटमा कार्यवाहक उपकुलपति प्रा.डा.शर्माले आधारभुत स्वास्थ्य केन्द्रहरुमा दीर्घरोगहरुको परिक्षण गरेर सेवा दिने सरकारको नीतिगत निर्णय अनुसार वीपी प्रतिष्ठान र उपमहानगरबीच सहकार्य तत्काल गर्न सकिने बताए । यस्तै, ४ दिनसम्म निरन्तर ज्वरो उत्रिएन भने निःशुल्क जाँच गरेर औषधी दिने कार्यक्रम २ बर्षसम्मको रहेको जानकारी दिने डा.शर्माले यो कार्यक्रमलाई पनि आधारभुत स्वास्थ्य केन्द्रमा लैजान सकिने बताए । यसको लागि प्रतिष्ठानले पत्राचार गर्ने र उपमहानगरसँग सहकार्य गर्ने पनि उनले बताए । 

एमसिएच भवनबारे सिनेट बैठकमा एजेण्डा लैजाने 

प्रतिष्ठानका रजिष्ट्रार डा.सुर्य संग्रौलाले एमसिएच भवनमा २ अर्ब बढी खर्च भइसकेको जानकारी दिए । उक्त भवन सञ्चालनबारे भने सिनेट बैठकबाट नै के गर्ने भनेर निर्णय हुनुपर्ने पनि उनले बताए । 

रजिष्ट्रार डा.संग्रौलाका अनुसार एमसिएच भवनसँगै अंकोलोजी, कार्डियोलोजी र फार्मेसी भवनबारेको कागजपत्र सबै अख्तियारले लगेको छ । ‘अहिले हामीसँग भएको डकुमेन्ट अध्ययन गरेर कार्यकारिणी समितिमा लैजान्छौं । त्यहाँबाट सिनेटमा लान्छौं । सिनेटले अब यसरी गर भनेर मार्गनिर्देशन नभएसम्म अहिलेको पदाधिकारीहरु अख्तियार जानुपर्ने स्थिति आउछ । त्यसले यसको निकासमा हामी छौं । मन्त्री आइसकेपछि सिनेट बैठक बस्छौं ।’ 

भिडियो: