धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलाउनको लागि सुझाव दिन र कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ । 

समितिका संयोजक मेयर हर्क साम्पाङको अध्यक्षतामा बुधबार बसेको बैठकले समितिका सदस्य डा.राजेन्द्र शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सदस्यहरु विकास आचार्य, दिनेश गजमेर र विनिता बज्रचार्य छन् भने सदस्य सचिवकोरुपमा शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा रहेका छन् ।

समितिको बैठकले ४ जना सदस्यहरुलाई पनि मनोनित गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयहरुका प्रअतर्फबाट धरान १२ स्थित पब्लिक स्कुलका इन्द्रमोहन झा, सुस्त मनस्थिति बाल कल्याण विद्यालयकी आरती थापा कार्कीलाई समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको समिति सदस्य विकास आचार्यले जानकारी दिए । यस्तै, सामुदायिक विद्यालय व्यवस्थापन समितिकोतर्फबाट धरान ५ स्थित हिमाली माविका अध्यक्ष दिपक घिसिङ र धार्मिक विद्यालयहरुकोतर्फबाट लोकबहादुर थिङलाई पनि चयन गरेको आचार्यले जानकारी दिए । 

यस्तै, शिक्षा ऐनमा सदस्यकोरुपमा एसिसि प्रतिनिधि राख्ने व्यवस्था गरिएकोमा उक्त प्रावधान संशोधन गर्न उपमहानगरपालिकालाई अनुरोध गर्ने पनि निर्णय बैठकले गरेको छ । तत्कालको लागि समितिमा प्याब्सन र एन प्याब्सनलाई एक एक जना प्रतिनिधि आमन्त्रण गर्ने पनि बैठकले निर्णय गरेको छ ।