धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । तर, उनले पत्रकारिताले आधारहिन कुरालाई फैलाउन नहुने पनि धारणा राखे ।

धरानबाट प्रकाशित हुने दिव्यरोशनी साप्ताहिकको १९ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर साम्पाङ यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल पत्रकार महासंघ सुनसरीको आन्दोलनको सन्दर्भ निकाल्दै मेयर साम्पाङले नगर प्रमुखले बोल्न दिएन भन्ने कुरा सत्य नभएको पनि बताए । ‘मैले बोल्न नदिने भन्ने कुरा छैन, लोकतन्त्रमा बोल्न पाउने अधिकार सुनिश्चित हुन्छ । स्वतन्त्रताविना लोकतन्त्र हुदैन । स्वतन्त्रता नै हो लोकतन्त्रको परिभाषा,’उनले भने,‘बोल्न जति पाइन्छ, तर बोल्दै गर्दा आधारहिन कुरा बोल्न पाइदैन । आधारहिन कुरा बोल्ने छुट छैन ।’

मेयर साम्पाङले जसले बोलेको हो, त्यो व्यक्तिले आफुले बोलेको कुराको जिम्मा लिनुपर्ने पनि बताए । ‘त्यो जवाफदेहिता हो, जवाफदेहितासहितको पत्रकारिता गर्नुहुन अनुरोध छ । जे पायो त्यही भनिदिने, अनि भोली होइन भनिदिने हुनुहुदैन,’उनले भने । 

dibyaroshani2

मेयर साम्पाङले पत्रकार महासंघसँग सहमति, सम्झौता हुन लागेको भन्दै आफ्नो पनि प्रतिवद्धता रहने र महासंघबाट पनि केही बिषयमा प्रतिवद्धता चाहेको उनले बताए । ‘म प्रेस स्वतन्त्रताको पक्षमा छु, तर कुन कुरामा मेरो असहमति छ भने आधारहिन कुरा पत्रकारले फैलाउनु हुदैन,’उनले भने,‘दिग्गज पत्रकारले घुस नखाई काम हुदैन भनिदिनुभयो । आरोप पुष्टि गर्ने हो भने त्यो कार्मचारीलाई गेट भित्र छिर्न दिन्न । प्रमाणित कुरा बोल्नुस् भनेको हो । आधारहिन नबोल्नुस् भनेको हो, त्यसलाई अर्कैतरिकाले बुझ्ने प्रयास भयो । त्यो सच्चिएर बुझ्नुस् ।’

मेयर साम्पाङले पत्रकारको हकहितको लागि स्थानीय सरकार प्रमुखकोरुपमा सहयोग गर्न तयार रहेको पनि बताए । ‘पत्रकारको हकहितको लागि मैले के गर्नुपर्छ ? म लड्न, गर्न तयार छुँ । तर आधारहित कुरा मलाई लक्षित गरेर भनेपछि मैले प्रतिवाद गर्नुपर्छ कि पर्दैन ?’उनले भने ।

तीन जना पत्रकार पुरस्कृत एवं सम्मानित

dibyaroshani1

 ‘दिव्य रोशनी’ साप्ताहिक पत्रिकाले धरानका ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । १९औ वार्षिकोत्सव कार्यक्रममा प्रकाशकरसम्पादक मनिता चाम्लिङका बुबा क्विन गोर्खा ईन्जियिरिङ्ग सार्जन्ट स्वर्गीय प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको उत्कृष्ट सामाजिक पत्रकारिता सम्मानद्वारा भैरव आङला र बिनादेवी तामाङ पुरस्कृत भएका छन् । दुवैलाई कार्यक्रमका प्रमुख अतिथि मेयर हर्क साम्पाङले जनही नगद ५ हजार ५ सय ५ रुपैयाँसहित सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यस्तै, 'श्रव्य दृश्य' अनलाइनका नवराज विष्टलाई सम्पादक प्रकाशन चाम्लिाङका दाजु वाजुन राईको स्मृतिमा स्थापित ५ हजार ५ सय ५ रुपैयाँ नगद राशीसहितको सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यसैगरि, कार्यक्रममा महिला उद्यमी, समाजसेवी प्रशिक्षक पूर्ण कुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो भने पत्रिकामा लेख रचना पठाएर सहयोग गर्ने लेखक नितेश श्रेष्ठ र रोशन श्रेष्ठलाई नगद सहित कदरपत्र प्रदान गरिएको छ। कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, महिला सञ्जाल धरानकी अध्यक्ष सपना राई, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने पुरस्कृतहरुकोतर्फबाट भैरव आङ्लाले बोलेका थिए ।


भिडियो: