धरान: विष्णु मेमोरियल मावि धरान ९ ले कोकाहा खानेपानी श्रमअभियानलाई पाइप सहयोग गरेको छ भने श्रमदानमा पनि सहभागी भएको छ । 

स्कुलले कोकाहा श्रमअभियानलाई १० थान पाइप सहयोग गरेको हो । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठसहित शिक्षक, कर्मचारीहरुको टिमले शुक्रबार मेयर हर्क साम्पाङ, आयोजना मेनेजर दत्तकुमार लिम्बुलाई भेटेर पाइप हस्तान्तरण गरेका थिए । यस्तै, उक्त स्कुलले शनिबार (आज) आफ्ना विद्यार्थीहरुलाई श्रमदान पनि सहभागी गराएका छन् । विष्णुका विद्यार्थीहरु धरान १७ खैरनीबाट श्रमदाताहरुसँगै डाँडाबाट जंगलको बाटो हुदै श्रमदानको अवलोकन गर्दै पटनाली पुगेका थिए । 

विद्यालयका प्रिन्सिपल श्रेष्ठका अनुसार शनिबार कक्षा १० का विद्यार्थीहरु, शिक्षक र कर्मचारीहरुसहित सय भन्दा बढी श्रमदानमा सहभागी भएका थिए । साथै, विद्यालयले श्रमदानमा सहभागी हुने श्रमदाताहरुको लागि ४ वटा बस पनि उपलब्ध गराएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । 

bishnu student

‘सामाजिक कार्यबारे विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान हासिल गरेका छन् । त्यसलाई व्यवहारमा कसरी उतारिन्छ भन्ने देखाउने उद्देश्य पनि हो,’उनले भने,‘नगर पिताले जनतालाई एकजुट बनाउने, समाजलाई एकजुट बनाउने । श्रम नै उत्तम कर्म हो भनेर सिकाउनु भएको छ, त्यो ठुलो शिक्षा हो । प्रत्यक्ष अनुभवन गर्न पायो भने विद्यार्थीहरुलाई फाइदा हुन्छ ।’

विद्यार्थीहरुलाई श्रमदानमा सहभागी गराउदै प्रोजेक्ट वर्क नै दिएको पनि प्रिन्सिपल श्रेष्ठले बताए । उनले भने,‘विद्यार्थीहरुलाई सामाजिक अध्ययन बिषयको प्रतिवेदन पनि तयार गर्नेछन् ।’

भिडियो: