धरान: आगामी आर्थिक बर्ष २०८०/८१ को लागि सरकारले ल्याएको बजेटमा धरानको खानेपानी आयोजनालाई पनि समेटिएको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना शुरु गर्ने उल्लेख छ । यो आयोजना भनेको अहिले खानेपानी मन्त्रालयले अध्ययन गरिरहेको कोशीको पानी धरान ल्याउने आयोजना हो । मन्त्रालयबाट कोशीको पानी धरान ल्याउनेसँगै ढल तथा फोहोर व्यवस्थापनको लागि पनि डिपिआरको अध्ययन गरिरहेको छ । 

मेयर हर्क साम्पाङले कोशीको पानी धरान ल्याएर मात्र खानेपानीको दीर्घकालिन समस्या समाधान हुने बताउदै आएका छन् । केही समयअघि मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहित राजधानी पुगेको उपमहानगरको टोलीले पनि कोशीको पानी ल्याउने आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजना गर्न आग्रह गरेको थियो । 

budget1

धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरीङ महशाखा प्रमुख सुरज श्रेष्ठ हाल खानेपानी मन्त्रालयबाट ६ वटा सहरको डिपिआर बनिरहेको र त्यहीबाट धरानलाई पनि बजेटमा समेटिएको हुनुपर्ने बताउँछन् । ‘मन्त्रालयले नै डिपिआर बनाएकोले त्यही नै समेटिएको हुनुपर्छ । किनभने खानेपानीको लागि अर्को प्रोजेक्टबारे छलफल र पहल भएको छैन । मेयर साबहरु काठमाण्डौं गएर पनि त्यही डिपिआर बन्दै गरेको प्रोजेक्टबारे पहल भएको हो,’श्रेष्ठले भने ।

budget

हाल डिपिआर अन्तिम चरणमा पुगेको छ । उक्त टोलीले कोशीको पानी धरान ल्याउने मात्र होइन, धरानको ढल तथा फोहोर व्यवस्थापनको लागि पनि अध्ययन गरिरहेको छ । ‘पछि डिटेल कार्यक्रम आएपछि कन्फर्म हुन्छ,’उनले भने । यो प्रोजेक्टले धरानको वडा नं ४, ५ र ६ लाई पनि पानी वितरण गर्ने गरि अध्ययन भइरहेको छ ।

यसैगरि, धरानको कृषि उपज थोक बजारस्थलमा बिषादी अवशेष द्रुत परिक्षण प्रयोगशाला सेवा विस्तार गर्ने पनि बजेटमा उल्लेख छ । यसले खाद्य पदार्थमा हुनसक्ने बिषादीहरुको अवशेष परीक्षणको दायरा विस्तार हुनेछ ।

भिडियो:

भिडियो: