धरान: धरानको कार्यपालिका बैठकमा संघीय सरकारले सप्तकोशीबाट खानेपानी ल्याउन बजेटमा समेटेको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको एजेण्डाले प्रवेश पाएको छ ।

बिहिबार बसेको कार्यपालिका बैठकमा तेस्रो बुँदामा यो एजेण्डा प्रस्तुत गरिएको थियो । प्रस्तावमा आगामी बर्षको लागि संघीय सरकारको बजेटमा समेटिएकोले छिमेकी बराहक्षेत्र नगरपालिकालगायत अन्य निकायसँग समन्वय गर्ने उल्लेख थियो । उक्त एजेण्डामा केही कार्यपालिका सदस्यहरुले बजेट सुनिश्चित भइनसकेको भन्दै निर्णय अहिल्यै गर्न नहुने धारणा राखेका थिए । तर, मेयर हर्क साम्पाङले खानेपानी जस्तो बिषयमा समन्वय गर्ने निर्णय नगरे अन्य एजेण्डामा अघि नबढ्ने अडान लिएका थिए ।

बैठक असहज हुने अवस्था सृर्जना भएपछि उपमेयर अइन्द्रबिक्रम बेघाले सबैको पहलमा संघीय सरकारको बजेटमा सप्तकोशीको पानी ल्याउने आयोजना समेटिएको र पहलको लागि समन्वय गर्न नगर प्रमुखको नेतृत्वमा एउटा मिट बनाउने प्रस्ताव गरेका थिए । उपमेयर बेघाको प्रस्तावमा वडा नं १८ र १५ का वडाअध्यक्षले पनि सहमति जनाएपछि कार्यपालिका बैठकले मेयर साम्पाङको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त समितिमा थप ४ जना सदस्यहरु भने मेयर साम्पाङलाई नै छनौट गर्न दिने पनि बैठकले निर्णय गरेको थियो । सोही निर्णय अनुसार मेयर साम्पाङले तत्कालै वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा नं ४ का अध्यक्ष धनबहादुर कुलुङ राई, वडा १३ का अध्यक्ष नेत्र काफ्ले र वडा ११ का अध्यक्ष लोकेन्द्र फागोलाई समिति सदस्यमा राख्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । यो समितिले सप्तकोशीको खानेपानी ल्याउने आयोजनाको लागि समन्वय र पहल गर्ने जिम्मेवारी दिइएको छ । 

भिडियो: