धरान: जसपा र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिदै समर्थन फिर्ता गरेपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । 

आज (बिहीबार ) प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार प्रदेश प्रमुख खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश-२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश-२०८० जारी गरेका हुन् । 

एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा छ । विपक्षी दलहरुले चालु बर्षे अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन संवैधानिक नहुने भन्दै विरोध गरिरहेपनि सरकारले सोही बाटो अपनाएको हो । अध्यादेशबाटै बजेट ल्याउनको लागि मन्त्रीपरिषदको सिफािरशमा प्रदेश प्रमुखले गए राति १२ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्य गरिसकेका छन् । त्यसअघि, प्रदेश प्रमुखले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

प्रदेशसभामा ९३ सदस्यीय रहेकोमा सत्तारूढ एमालेका ४० र राप्रपाका ६ गरि ४६ जना सांसद छन् । बहुमतको लागि ४७ जना सांसद आवश्यक पर्छ । प्रतिपक्षमा पनि कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ४६ जना नै छन् । सभामुख पनि माओवादी पार्टीबाट भएकोले बराबरी मत हुँदा भोट गर्नुपर्ने अवस्था भए उनको मतले मात्र विपक्षी दलहरुको गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ । 

koshi budget