धरान: कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आगामी आर्थिक बर्ष २०८०/८१ को लागि ल्याएको बजेटमा धरानको खानेपानी समस्या तत्कालिन समाधान गर्न ४ करोड बजेट विनियोजन गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले बिहिबार बजेट प्रस्तुत गर्दै धरान उपमहानगरपालिकाको खानेपानी समस्या तत्कालिन समाधान गर्न वेल निर्माणको लागि ४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । खानेपानी, सिचाई तथा उर्जा क्षेत्रको जम्मा ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन भएकोमा धरानमा वेल निर्माणको लागि प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको हो । 

प्रत्येक नागरिकलाई आधारभूत खानेपानी सेवा प्रवाह गर्न एक घर एक धाराको अवधारणा अनुरुप खानेपानी तथा सरसफाई आयोजनाहरुलाई प्राथमिकता दिदै सम्पन्न गर्ने र खानेपानी सेवा उपलब्ध नभएका स्थानहरुमा पम्प, लिफ्ट, डिपबोरिङ तथा बर्षातको पानी संकलनमार्फत खानेपानी सेवा उपलब्ध गराउन १ अर्ब ७६ करोड ६३ लाख बजेट पनि सरकारले व्यवस्था गरेको छ । 

कुल बजेट ३६ अर्ब 

प्रदेश सरकारले बिहिबार अध्यादेशमार्फत कुल ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएको छ । सरकार अल्पमतमा परेपछि प्रदेश सरकारले संसद अधिवेशन अन्त्य गर्दै बिहिबार अध्यादेश जारी गर्दै बजेट ल्याएको हो । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मत कार्की बिहिबार बजेट प्रस्तुत गरेका थिए । उनले आगामी आर्थिक बर्षको लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेट विनियोजन गरेको जानकारी दिए । 

कुल बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगत खर्चतर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रहेको छ भने बित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा बित्तिय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । यस्तै, चालु खर्च मध्येमा संघीय अनुदान बचत फिर्तातर्फ २ अर्ब विनियोजन गरिएको पनि मुख्यमन्त्री कार्कीले जानकारी दिए । 

खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजश्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख रहने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै, ससर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र बिशेष अनुदानबाट ७६ करोड गरि कुल ३४ करोड २९ लाख ५० हजार खर्च व्यहोरिने भएको छ । बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार व्यहोरिने भएको छ । बजेटको कार्यान्वयनबाट आगामी बर्ष कुल गार्हस्थ उत्पादन ९ खर्ब ६३ अर्ब पुग्ने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर ५.७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।