धरान: आगामी आर्थिक बर्षको लागि प्रस्तावित बजेट अनुमोदन नगरि धरानको कार्यपालिका बैठक स्थगित भएको छ । 

दिउँसो २ बजेदेखि बसेको बैठकमा वडागत र बिषगयत क्षेत्रको बजेटको सिलिङमा ४ घण्टा बहस भएको थियो । बैठकमा आगामी आर्थिक बर्षको लागि १ अर्ब ७१ करोडको बजेट प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावमा धरानको २० वटा वडालाई कुल २१ करोड विनियोजन गरिएको छ । यस्तै, बिषयगत समितिहरुलाई पनि प्रस्ताव गरिएको बजेट सिलिङसँगै ब्रेकडाउन पनि समावेश गरिएको थियो । 

बैठकमा बिषयगत समितिका संयोजक तथा सदस्यहरुले भने सिलिङ मात्र अनुमोदनको लागि प्रस्ताव गर्नुपर्नेमा मेयर हर्क साम्पाङले ब्रेक डाउन नै गरेर ल्याएको भन्दै तीब्र असन्तुष्टी प्रकट गरेका थिए । उनीहरुले सिलिङ बिषयगत समितिमा पठाउनुपर्ने र बिषयगत समितिले ब्रेकडाउन गर्नुपर्नेमा समितिको बैठक नै नबसी अनुमोदनको लागि प्रस्ताव आएको भन्दै प्रश्न उठाएका थिए । सोही बिषयमा असन्तुष्टी जनाउदै वडा १० का अध्यक्ष विवेक राईले बैठक बहिष्कारसमेत गरेका थिए ।

karyapalika1

यस्तै, वडाअध्यक्षहरुले पनि चालु आर्थिक बर्षभन्दा घटेर आएको वडालाई सिमा निर्धारण गरिएको भन्दै असन्तुष्टी प्रकट गरेका थिए । उनीहरुले पनि प्रशासनिक खर्च मात्र वडामा पठाउन र बाँकी बजेट सबै नगरबाट नै खर्च गर्नु भन्दै बैठकमा आग्रह गरेका थिए । वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराईले एकबर्षदेखिको आफ्ना मागहरु पुरा नभएको भन्दै प्रशासनिक खर्च मात्र दिन आग्रह गरेका थिए ।

मेयर साम्पाङले भने सिमा निर्धारण समितिको बैठकले पारित गरेको भन्दै बिषयगत समितिको ब्रेकडाउनसहित वडा र बिषयगत क्षेत्रको बजेट सिलिङ पारित गर्न बैठकमा आग्रह गरेका थिए । तर, वडाअध्यक्ष र बिषयत समितिका अध्यक्ष, सदस्यहरुले सिलिङ मात्र पारित भएकोले ब्रेकडाउन बैठकको प्रस्तावबाट हटाएर मात्र अनुमोदन गर्नुपर्ने अडान राखेका थिए । 

दुवै पक्षले आफ्नो अडान नछोडेपछि मेयर साम्पाङले बैठक स्थगित गरेका थिए । बैठक कहिले बस्ने भनेर निर्णय नभएको वरिष्ठ प्रशासकीय अधिकृत शम्भु पाण्डेले बताए । त्यसअघि, बैठकले १३ औं नगरसभा असार १० गते सैनिक भवनमा आह्वान गर्ने निर्णय भने गरेको थियो ।

भिडियो:

भिडियो:

भिडियो: