धरान: धरान १२ स्थित मेघा हिमालयन कलेजमा एक महिने हस्पिटालिटी वर्कसप सुरु भएको छ । 

कलेजले बिहिबार पत्रकार सम्मेलन गरेर बुधबारदेखि वर्कसप शुरु भएको जानकारी दिएको हो । स्वीस कन्ट्याक्ट प्रोग्राम अन्तर्गत नेदरल्याण्डबाट आएका हस्पिटलिटी बिज्ञ बेरेनड जन हेरिङ्गाले प्रशिक्षण दिइरहेका छन् । वर्कसपबाट होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई फाइदा हुने कलेजले जनाएको छ । यो परियोजनाले विकासशील राष्ट्रहरुको शिक्षण सिकाइमा सहयोग गर्दै आएको छ । 

विज्ञ एवं प्रशिक्षक हेरिङ्गाले हस्पिटालिटी क्षेत्रमा २५ बर्ष र शिक्षण क्षेत्रमा २७ बर्षको अनुभव रहेको बताएका थिए । उनले मानिसलाई नजिकबाट बुझ्नको लागि हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको बताए । साथै उनले नेपालमा हिमाल, सुन्दरतासँगै आतिथ्यता र मौलिक संस्कृति रहेकोले गौरव गर्दै उद्यमशीलताको खोजी गरिनुपर्ने बताए । उनले नेपालीको मौलिकपन, मौलिक खानपान र आतिथ्यता सत्कारलाई प्रर्वद्धन गर्नुपर्ने पनि बताए । 

कलेजका एचएम कोर्डिनेटर पोषण श्रेष्ठका अनुसार बुधबार पहिलो दिन हाइजिनिङ र ग्रुमिङका विषयमा प्रशिक्षण भएको थियो भने दोस्रो दिन बिहिबार हस्पिटालिटी सेक्टर र यसबाट हुनसक्ने उद्यमशीलताको विषयमा जानकारी दिइएको थियो । प्राचार्ज भास्कर पौडेलले वर्कसप एक महिनासम्म हुने जानकारी दिदै यसले आतिथ्यता र सत्कारको क्षेत्रमा काम गरिरहेको सरोकारवाला र व्यवसायीहरुलाई पनि साक्षात्कार गराउने बताए ।