धरान: कोशी प्रदेशमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलिजुली सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् । 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि ५ दिन समय दिएर दलहरुलाई आह्वान गरेका हुन्। अब राजनीतिक दलहरुले असार २१ गतेसम्म बहुमत प्रदेशसभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्ने हुन्छ । नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत पाउन नसकेर सरकार ढलेपछि नयाँ सरकार गठनको रस्साकस्सी शुरु भएको थियो ।

एमालेले संविधानको धारा १६८ उपधारा २ अनुसारको सरकार आफ्नो भएको दाबी गर्दै अब उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउन आह्वान हुनुपर्ने माग प्रदेश प्रमुख समक्ष गरेको थियो । प्रदेश प्रमुख कार्यालयले भने महान्यायाधिवक्ता समेतको रायमा उपधारा २ अनुसारको सरकार बनाउन आह्वान गरिएको जनाएको छ । 

नयाँ सरकार गठनको लागि केन्द्रीय सत्ता गठबन्धनका दलहरुसँग पनि स्पष्ट बहुमत छैन । राप्रपा र जसपाको समर्थन विना गठबन्धनले पनि कोशी प्रदेशमा सरकार बनाउन सक्ने अवस्था छैन । जसले गर्दा प्रदेशमा मध्यावधी चुनाव हुने सम्भावना पनि छ । सरकार गठनको बिषयमा सहमति जुटाउन प्रदेशका गठबन्धनका नेताहरु शीर्ष नेतृत्वसँग छलफल गर्न संघीय राजधानी पुगेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी पेश गरिरहेका छन् भने सरकार गठनको चाबी बोकेको राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझादारी रहेको बताइएको छ । 

कोशी प्रदेशमा ९३ सदस्यीय प्रदेश सभामा छ । जसमा विश्वासको मत लिदा मात्र १ मत नपुगेर एमाले नेतृत्वको सरकार ढलेको थियो । सरकार गठन गर्न आवश्यक ४७ मत आवश्यक हुँदा मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए भने विपक्षमा ४३ मत खसेको थियो ।

प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), राप्रपाका ६, एकीकृत समावादीका ४ र जसपा १ सांसद छन्। माओवादीको सभामुख नजोडिदा र जसपाले साथ दिदा पनि गठबन्धनको पनि ४६ मत मात्र पुग्छ । गठबन्धनले पनि सरकार बनाउन राप्रपाको साथ पाउन आवश्यक भएकोले संवाद भइरहेको र सहमति जुट्ने गठबन्धनका नेताहरुको भनाई छ । 

koshi-prov