धरान: प्रदेशका सभामुख बाबुराम गौतमसहितको समर्थनमा दाबी प्रस्तुत गरेपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) वमोजिम बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको यो धारामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त व्यक्ति मुख्यमन्त्री हुने व्यवस्था छ । केन्द्रीय सत्ता गठबन्धनको बहुमत नपुग्ने भएपछि प्रदेश सभामुख गौतमले पनि प्रदेशसभा सदस्यकोरुपमा समर्थनमा हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुखलाई बुझाइएको छ । गौतम माओवादी केन्द्रबाट निवार्चित प्रदेश सांसद हुन् । सभामुखमा नियुक्त भएपछि उनले पार्टी सदस्यबाट राजिनामा दिएका थिए ।

udav

प्रदेश सभामा कुल ९३ सदस्यहरु छन् । सरकार गठनको लागि बहुमत पुर्याउन ४७ जना सांसदहरुको समर्थन आवश्यक छ । एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले एमालेका ४० र राप्रपाका ६ जनाको गरि ४६ जनाको मात्र विश्वासको मत प्राप्त गरेपछि सरकार ढलेको थियो । विपक्षी गठबन्धनले पनि राप्रपाको साथ विना ४७ जनाको बहुमत पुर्याउनसक्ने अवस्था थिएन । कांग्रेससँग २९ सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र जसपाका १ जना गरि कुल ४६ जना मात्र पुग्छ । बहुमत नपुग्ने भएपछि प्रदेश सभामुख बाबुराम गौतमले पनि समर्थनमा हस्ताक्षर गरेर थापालाई मुख्यमन्त्री बनाएको हो । 

मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई बहुमत पुर्याउन सभामुख गौतमले हस्ताक्षर गर्नु गैरसंवैधानिक कदम भएको भन्दै उनको आलोचना पनि भइरहेको छ । संविधानविद् भिमार्जुन आचार्यले सभामुखकै संलग्तनामा सरकार गठनको परिकल्पना संविधानले नगरेको भन्दै यस्तो कार्य असंसदीय र असंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले ट्विट गर्दे भनेका छन्,‘सभामुखको पद राजनीतिकरुपमा तटस्थ मानिन्छ । कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसदको अपहेलना जन्य कार्य हो । यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ ।’

udav1