धरान: वैदेशिक रोजगारबाट फर्किएका धरानका व्यक्तिहरुको लागि धरान उपमहानगरपलिका र बैदेशिक रोजगार बोर्डको सहकार्यमा पुनः एकीकरण कार्यक्रम अन्तर्गत विभिन्न तालिम सञ्चालन भएको थियो । 

आवेदन दिएकाहरु मध्ये ४० जना छनौट भएका थिए । ती मध्ये १४ जनालाई एक महिने ड्राइभिङ तालिम, १४ जनालाई १५ दिने बारिष्ठा तालिम र १२ जनालाई ७ दिने थुक्पा बनाउने तालिम उपमहानगरले सञ्चालन गरेको थियो । यी तीन किसिमका तालिमहरु मध्ये जेठ २८ गतेदेखि भएको थुक्पा बनाउने तालिमका सहभागी १२ जना उद्यमी पनि बन्ने भएका छन् । 

प्रायः तालिम लिएकाहरु तालिममै मात्र सिमित रहने चलन छ । आफुले सिकेको सिप सदुपयोग गर्दै स्वरोजगार बन्न चाहनेहरु कमै हुन्छन् । तर, यो पुनःएकीकरण कार्यक्रम अन्तर्गत थुक्पा बनाउने तालिम लिएकाहरुले भने २ वटा समुह नै बनाएर उद्योग सञ्चालन गर्ने भएका छन् । उनीहरुको चाहनालाई पनि साथ दिदै बिहिबार धरान उपमहानगरपालिकाले आवश्यक पर्ने मेशिनहरु प्रदान गरेको छ । पुनःएकीकरण कार्यक्रमकी फोकल पर्सन निर्मला बस्नेतका अनुसार साउन १ गते उद्योग पनि सञ्चालन गर्ने गरि मेशिन वितरण गरिएको हो । 

thukpa1

तालिममा सहभागीहरुले ६/६ जनाको दुई वटा उद्योग सञ्चालक समिति नै बनाएका छन् । एउटाको नाम छ धरान आप्रवासी थुक्पा उद्योग र अर्कोको नाम छ  न्युन धराने आप्रवासी थुक्पा उद्योग । हाललाई दुवै समुहले धरान ८ धनकुटे रोडस्थित बराह मलमा कोठा लिएर उद्योग सञ्चालन गर्ने तयारीमा जुटेका छन् । उनीहरुलाई बिहिबार पुनः एकीकरण कार्यक्रमका संयोजक एवं उपमेयर अइन्द्रबिक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलगायतले मशिन हस्तान्तरण गरेका थिए ।

उपमेयर बेघाले सिप दिएर स्वरोजगार बनाउने राज्यको नीति अनुसार नै तालिम दिइएको र स्वरोजगार पनि हुन चाहनेलाई सहयोग गरिएको बताए । ड्राइभिङ र बारिष्ठा तालिम लिएकाहरुलाई भने आवश्यक पर्ने अन्य सहयोग गर्न स्रोतको कमी भएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले उद्यमी बन्न चाहनेलाई राज्यले तालिम मात्र होइन, सहयोग पनि गर्छ भन्ने सन्देश दिने काम पनि भएको बताए । थुक्पा तालिम लिएकाहरुमा स्वरोजगार हुने उत्साह देखेको कारण सहयोग गरेको उनको भनाई थियो । 

भिडियो: