धरान: उद्यमी बनेर आत्मनिर्भर हुँदै रोजगारीसमेत सृर्जना गर्न सफल दुई जना महिला उद्यमी धरानमा सम्मानित भएका छन् ।

धरान १२ चतरालाइनस्थित चौबिसे सङयक ढाका उद्योग र सोरुमकी प्रोपाइटर महिला उद्यमी यमुना तुम्सा र रामधुनी नगरपालिकाकी उद्यमी सृर्जना भट्टराई सम्मानित भएकी हुन् । दुवैलाई सोमबार धरानमा नेपाल उद्यमशिल महिला संघको स्मारिका विमोचन तथा पदस्थापना कार्यक्रमको अवसरमा सम्मान गरिएको हो । उनीहरुलाई प्रमुख अतिथि एवं प्रदेशसभाकी उपसभामुख सृर्जना दनुवार, संस्थाकी अध्यक्षसमेत रहेकी प्रदेशसभा सदस्य यशोदा कायस्थले सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानित भएकी तुम्साले मौलिक ढाकाको कपडालाई आधुनिकता फेसनसँग जोडेर युवामाझ लोकप्रिय बनाएकी छिन् । उनले देश विदेशमा विभिन्न डिजाइनका ढाका कपडाहरु निर्यात गरेकी छिन् भने धेरैलाई रोजगारी पनि दिएकी छिन् । शिक्षामा स्नातकोत्तर अध्ययन गरेकी तुम्सा गाउँमा शिक्षिकाको रुपमा कार्यरत थिईन् । शिक्षिका हुँदा आफू मात्रै रोजगार हुने तर उद्यमी बन्दा धेरैलाई रोजगार दिन सकिन्छ भन्ने सोचका साथ धरान झरेर उनले चौबिसे सङयक ढाका उद्योग खोलेर सफल उद्यमीको परिचय बनाएकी छिन् । 

यसैगरि, रामधुनीकी उद्यमी तथा व्यवसायी महिला भट्टराईले सानो किराना दोकानबाट व्यवसाय शुरुवात गरेकी थिइन् । उनले आफ्नो व्यवसायलाई बढाउदै दर्शन राईस मिल, सृजना फर्निचर, पाथीभरा आलमुनियम जस्ता व्यवसाय पनि गर्दै रोजगारी पनि दिइरहेकी छिन् । 

udham1

सोही कार्यक्रममा नेपाल उद्यमी महिला संघले गरेको काम तथा अनुभवहरुलाई समेट्दै तयार पारिएको स्मारिका पनि बिमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं उपसभामुख दनुवार, प्रदेश सांसद रमेश बस्नेत, सांसद विजय राई, सुनसरीकी प्रमुख जिल्ला अधिकारी प्रमुख हुमकला पाण्डे लगायत अतिथिहरुले संयुक्त रुपमा स्मारिका विमोचन गरेरका थिए । उद्यमीहरुको उत्पादनलाई बजारिकरण गर्ने, उद्यमी र व्यवसायी महिलाहरुको क्षमता विकासका लागि आवश्यक तालिमहरु संचालन गरेको र उद्यमी महिला मेलाको आयोजना लगायतका विषयवस्तुहरु स्मरिकामा समेटिएको महासचिव रन्जु सिग्देलले बताईन् । 

         उद्यमी र व्यवसायी महिलाहरुको पहिचान गरि र उनीहरुको समस्यालाई बुझेर सम्बन्धित निकायसम्म पूर्याउने उद्देश्यले संस्थाको स्थापना इलाममा भएको अध्यक्ष यशोदा कायस्थले बताइन् । धरान, ईटहरी, रामधुनी लगायत नजिकका नगरपालिका, तत्कालिन गाविसका उद्यमी महिलाहरुलाई समेटेर नेपाल उद्यमी महिला संघ सुनसरी स्थापना गरेको ७ वर्ष पुरा भएको पनि उनले बताईन । नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्दा भावुक हुदै उनले भनिन्,“मलाई यो संस्थाको माया सधै लागि रहन्छ ।”

udham

सोही कार्यक्रममा संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापना साथै सपथ ग्रहण पनि गराइएको थियो । अध्यक्षमा रञ्जु सिग्देलसहित १२ जना सदस्यहरु सर्वसम्मत निवार्चित भएका थिए । यस्तै, नवनिवार्चित पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष पार्वता बराइली, प्रथम उपाध्यक्ष सृर्जना भट्टराई, द्धितिय उपाध्यक्ष मिना घिमिरे, महासचिवमा पुष्यवती शिवाकोटी र कोषाध्यक्षमा सुलेखा जोशी रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई सह निर्वाचन अधिकृत मोहन श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।