धरान: विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले धरान १४ दुई धारे नजिकै नवनिर्मित चर्चले धार्मिक सद्भाव भड्कन सक्ने भन्दै उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएकोप्रति धरान ख्रीष्टिय समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ख्रीष्टिय समाजले पनि शुक्रबार मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउदै धार्मिक संरक्षण समन्वय समितिको मागप्रति स्तब्ध र आश्चर्यचकित भएको जनाएको छ । विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले असार २२ गते ज्ञापन पत्र बुझाउदै नवनिर्मित चर्चलाई स्थानान्तरण गर्न र धरान १४ विजयपुर भरी कुनै चर्च बनाउन नपाउने माग गरेका थिए । धरान १४ स्थित गोपाल मन्दिर सामुन्ने स्वीकृति नलिई चर्च निर्माण भएको र यसले धार्मिक सद्भावमा खलल पुग्ने भन्दै समितिले स्थनान्तरण गर्न माग गरेको थियो । 

ख्रीष्टिय समाजले नेपालको संविधानले प्रदत्त गरेको अधिकारलाई प्रयोग गरि सो स्थानको निजी जमिनमा धार्मिक प्रयोजनको लागि चर्च निर्माण गरिएको मेयर साम्पाङलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ‘नेपालको संविधान मौलिक हक सम्बन्धि भाग ३ को धारा २६ मा धार्मिक स्वतन्त्रताको हक सम्बन्धी उपधारा १ ले धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भनी धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ,’ मेयर साम्पाङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

church1

धरान बहुजन हिताय, बहुजन सुखायको महानवाणीलाई आत्मसात गर्दै सबैको हित र सबैको सुखको निम्ति श्रम सँस्कृतिको उच्चकोटीको अभुतपुर्व एकता र सद्भावको नमुना विश्वलाई दिदै अघि बढीरहेको भन्दै धार्मिक सहिष्णुता र सद्भाव छातीभरि बोकेर बाँचेको सहिष्णु सहर भएको पनि ख्रीष्टिय समाजले जनाएको छ । नेपाली इसाईहरुले विगतमा धार्मिक सद्भाव नभड्काएको र वर्तमानमा पनि नभड्काएको र भविष्यमा पनि नभड्काउने समाजको ध्यानाकर्षणमा उल्लेख छ । ‘हामीबाट यस्तो निकृष्ट कार्य कदापि हुनेछैन भनि सबै देशबासी तथा धरानबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रतिवद्धता जाहेर गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

समाजले मेयर साम्पाङसँग संविधानले दिएको अधिकारको प्रत्याभूति र स्वतन्त्रतापुर्वक आफ्नो धार्मिक आस्था अनुसार धार्मिक क्रियाकलाप गर्न कुनै प्रकारको वाधा अवरोध हुन नदिन र धार्मिकस्थल (चर्च) को सुरक्षाको माग पनि गरेको छ । शान्तिपुर्ण छलफलद्धारा समस्याको समाधानको लागि ख्रीष्टिय समाज सदैव तयार रहेको पनि उल्लेख गरिएको छ । मेयर साम्पाङले धार्मिक बिषय ज्यादै संवेदनशील भएको भन्दै दुवै पक्षलाई आइतबार छलफल गराउने बताएका छन् । 

भिडियो: