धरान: धरान १४ विजयपुरस्थित गोपाल मन्दिर नजिकै ईसाई धर्मावलम्बीहरुको चर्च बनेको बिषय विवादित भएपछि आइतबार मेयर हर्क साम्पाङले दुवै धर्मावलम्बीहरुलाई छलफलमा बोलाएका थिए । 

मेयर साम्पाङको कार्यकक्षमा उपमेयर अइन्द्रबिक्रम बेघासमेतको उपस्थितिमा दुवै पक्ष छलफलमा बसेपनि सहमति भने भएन । चर्चकोतर्फबाट उपस्थित इसाई अगुवाहरुले कुनै पनि गलत आसयले वा धार्मिक सद्भाव भड्काउने हिसाबले चर्च निर्माण नगरिएको र त्यस्तो घटना नहुने प्रतिवद्धता आफुहरु गर्न तयार रहेको बताएका थिए । उनीहरुले निर्माण स्वीकृति नलिएकोमा भने गल्ती भएको र उपमहानगरपालिकाको नियम अनुसार दण्ड, जरिवाना भोग्न तयार रहेको बताए । 

bijaypur1

उनीहरुले अहिलेसम्म धरानमा धार्मिक सद्भाव विथोलिने गरि कुनै घटना नभएको र भविष्यमा पनि नहुने बताएका थिए । साथै, धरान ३ मा मस्जिदसँगै मन्दिर रहेको, धरान ८ र १९ को सिमाना खहरे पुल वारि र पारि प्रणामी मन्दिर र चर्च रहेको जस्ता उदाहरण दिदै सबैले मिलेर आआफ्नो आस्था अनुसार गतिविधि गरिरहेको र धार्मिक सद्भाव कहिल्यै पनि नबिथोलिएको जिकिर गरेका थिए । 

विजयपुर क्षेत्र धार्मिक संरक्षण समितिले भने भविष्य धार्मिक सद्भाव भड्काउने गरि गलत आसयले मन्दिर नजिकै चर्च बनाइएको भन्दै हटाउनुपर्ने वा पार्टी प्यालेस भनेर बनाइएकोले सोही उद्देश्यको लागि मात्र प्रयोगमा ल्याउनुपर्ने अडान राखेको थियो ।

bijaypur

कुनै घटना भएमा त्यसको जिम्मेवार आफुहरुले नलिने पनि उनीहरुले बताए । उनीहरुले भारतको मणिपुर राज्यमा अहिले भइरहेको हिंसा, राम मन्दिर र मस्जिदको बिषयमा भइरहेको हिन्दु मुस्लिम द्धन्दलगायतको उदाहरण दिदै यहाँ पनि त्यस्तै द्धन्दको विजारोपण भएको बताएका थिए ।

मेयर साम्पाङले दुवै पक्षलाई एकापसमा मिल्न आग्रह गर्दै धार्मिक बिषय संवेदनशील भएकोले यो बिषयमा स्थानीय सरकारले निर्णय गर्न नसक्ने बताए । दुवै पक्ष मिल्न नसके अर्को ढोका खुल्ला रहेको पनि बताए । दुवै पक्षको कुरा सही नै जस्तो लागेको भन्दै उनले तर कस्को कुरा सही हो भनेर अदालतले मात्र भन्नसक्ने उनले बताए । ‘दुवै पक्षको कुरा सहि नै लाग्छ, तर सबैभन्दा सही कुरा के हो त भन्ने कुरा कोर्टले भन्छ होला सादय, झगडा गर्दै जाने हो भने । होइन भने मिल्नुको विकल्प छैन,’उनले भने । 

भिडियो:

भिडियो: