धरान: धरानमा डेंगु संक्रमित ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु भएको छ । गत जेठ २३ गते धरान १७ की ३० बर्षीय महिलाको डेंगुबाट पहिलो मृत्यु भएको थियो । यस्तै, असार १५ गते धरान ११ की ४० बर्षीकी महिलाको मृत्यु भएको थियो भने साउन २ गते डेंगु संक्रमण भएका धरान ११ का ७९ बषीय वृद्ध र धरान १८ की ८४ बर्षीया महिलाको पनि निधन भएको सहप्रवक्ता डा. पोखरेलले बताए । 

यसैगरि, साउन ३ गते धरान ५ की ५३ बर्षीया महिलाको निधन भएको थियो भने सोही दिन (साउन ५ गते) धरान १० का ५६ बर्षीय पुरुष र धरान २ का ७७ बर्षका पुरुषको पनि मृत्यु भएको डा.पोखरेलले बताए । मृत्यु भएका ७ जना मध्ये जेठ २३ गते निधन भएकी महिलालाई डेंगु मात्र भएको थियो भने अन्य ६ जना दीर्घ रोगी पनि भएको प्रतिष्ठानले जनाएको छ ।

यसबाहेक पनि अन्य २ जनाको निधन भएको अपुष्ट खबर आएको र पत्ता लगाउने प्रयास भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । उनले भने,‘अरु पनि २ जनाको मृत्यु भएको कुरा छ । पुष्टि भएको छैन । वीपीमै मृत्यु भएको हो कि अरु कोही हो, वडा कार्यालयमार्फत पत्ता लगाउने प्रयासमा छौं ।’

खोज र नष्ट नगर एकीकृत अभियान शुरु

dengi2

डेंगुको महामारी फैलिएर नगरबासीको ज्यानसमेत जान थालेपछि स्थानीय सरकारले खोज र नष्ट गर (सर्च एण्ड डिष्ट्रोय) अभियानमा जुटेको छ । शुक्रबार मेयर हर्क साम्पाङले धरानका टोल विकास संस्था (टिएलओ)हरुका नेतृत्वको भेला बोलाएका थिए, र लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान शुरु गर्न आग्रह गरेका थिए ।

डेंगुले नगरबासीको ज्यानसमेत गएको तर उपमहानगरले नियन्त्रणमा चासो नदिएको भन्दै चर्को आलोचना भएपछि मेयर साम्पाङले उक्त भेला बोलाएका थिए । यद्यपी, उक्त भेलामा मेयर साम्पाङले आफ्नो मात्र कुरा सुनाएको र आफुहरुलाई कुरा राख्न नदिएको भन्दै सहभागी टिएलओका अगुवाहरुले असन्तुष्टी पनि पोखेका थिए । उक्त भेला पछि डेंगुबाट सबैभन्दा बढी संक्रमित वडाहरुले सर्च एण्ड डिष्ट्रोय अभियान थालेका छन् । डेंगुबाट सबैभन्दा बढी वडा १७, ११, १८, १३, १६, १५ लगायत वडाहरु प्रभावित छन् ।

dengi

सोमबारदेखि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेर समुदायस्तरमा नै सर्च एण्ड डिष्ट्रोय अभियान शुरु भएको उपमहानगरको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । ‘वडाहरुमा टिएलओ परिचालन गरेर खोज र नष्ट गर अभियान वृहत र एकीकृतरुपमा भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, सेभ द अर्थ, फेयर मेड र हामी मिलेर सचेतना कार्यक्रम अनि सर्च एण्ड डिष्ट्रोय अभियान पनि शुरु भएको छ,’उनले भने ।

पानी जमेको ठाउँमा लार्भा भेटिए नष्ट गर्ने र स्थानीयलाई त्यसबारेमा सजग पनि गराउने काम अभियानको क्रममा भइरहेको छ । यस्तै, लक्षण देखिएकालाई तत्काल परीक्षण गर्ने र आवश्यक सुझाव दिने, औषधी पनि दिने काम भइरहेको फोकल पर्सन विजय साहले बताए । उनका अनुसार सिटामोल, जीवनजल र ओडोमोस मलम पनि वितरण भइरहेको छ । मंगलबार दिउँसो ४ बजेदेखि धरान वडा १५ स्थित निराजन बस्तीमा सर्च एण्ड डिष्ट्रोय अभियान भएको थियो । उक्त अभियानमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी भएका थिए । एकीकृतरुपमा अभियान शुरु हुनु अघि मेयर साम्पाङले प्रत्येक शुक्रबार लागुऔषधविरुद्ध अभियानपछि सचेतनामुलक सर्च एण्ड डिष्ट्रोय कार्यक्रम पनि गर्दै आएका थिए । तर, समुदायस्तरमा वृहत र एकीकृतरुपमा टिएलओ, संघसंस्थाहरु परिचालित भएको थिएन । 

परीक्षण किट महंगो

dengi4

डेंगुको महामारी फैलिएसँगै धरानको निजी क्लिनिक एवं स्वास्थ्य संस्थाहरुले महंगोमा परीक्षण गरिरहेका छन् । जसले गर्दा गरिब तथा विपन्न सर्वसाधारणहरु थप आर्थिक मारमा परिरहेका छन् ।

डेंगु परीक्षण वीपी प्रतिष्ठानमा निःशुल्क व्यवस्था छ । तर, अधिकांश विरामीहरु प्रतिष्ठानसम्म पुग्दैनन् । नजिकैको मेडिकल तथा क्लिनिकहरुमा कम्तीमा पनि १५ सय रुपैया डेंगु परीक्षणको शुल्क तिर्नुपरिरहेको विरामीहरुको भनाई छ । ‘यो प्रकोपको बेला हो, सबैले बुझ्नुपर्ने हो, तर कतिलाई यही मौका हो भन्ने पनि भएको छ,’उनले भने,‘डेंगुको १ हजार र सिबिसि टेष्टको ५ सय लिइरहेको छ । तर किटको १८० रुपैया मात्र पर्छ ।’

उपमेयर अइन्द्रबिक्रम बेघाले अढाई सय हाराहारीमा किट पाउने भएपनि निजीमा महंगोमा परीक्षण गरिरहेको गुनासो सुनिएको बताए । उनले यो बिषयमा छलफल भएको र स्वास्थ्य महाशाखामार्फत कडा अनुगमन गराउने पनि बताए । 

भिडियो: