धरान: डेंगुको महामारी फैलिएको धरानमा संक्रमण दर ८५ प्रतिशत पुगेको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेंगु क्लिनिकमा पछिल्लो ३ दिनमा गरिएको परीक्षणमा संक्रमण दर उच्च देखिएको हो । डेंगु क्लिनिक शुरु भएयता समग्र संक्रमण दर ७९.५ प्रतिशत भएपनि आइतबार, सोमबार र मंगलबार (आज)को मात्र परीक्षणको रिपोर्ट हेर्दा ८५ प्रतिशत पुगेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए । उनले भने,‘डेंगु क्लिनिक शुरु भएयताको तथ्यांकमा ७९.५ प्रतिशत संक्रमण दर छ, तर पछिल्लो ३ दिनको मात्र दर हेर्दा ८५ प्रतिशत पुगेको छ ।’

यो भनेको एक सय जनाको परीक्षण गर्दा ८५ जना संक्रमित हुनु हो । आज (मंगबलार) डेंगु क्लिनिकमा १७० जनाको परीक्षण भएको थियो । त्यसमध्ये १४७ जनामा संक्रमण देखिएको छ । सहप्रवक्ता डा.पोखरेलका अनुसार असार २९ गतेदेखि शुरु भएको उक्त क्लिनिकमा साउन ९ गते (मंगलबार) सम्म १३१९ जनाको परीक्षण गरिएको छ । ती मध्ये १०४८ जनामा डेंगु संक्रमण देखिएको छ । यो ७९.५ प्रतिशतले संक्रमित दर हो । यसमा पनि १० प्रतिशत हाराहारी प्रतिष्ठान भित्रकै शिक्षक, कर्मचारी, विद्यार्थीलगायत संक्रमित छन् ।

छुट्टै डेंगु वार्ड पनि सञ्चालनमा

डेंगुका विरामी बढेपछि जिओपिडी अघि अलग्गै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको विपी प्रतिष्ठानले छुट्टै डेंगु वार्ड पनि सञ्चालनमा ल्याएको छ । विरामीहरुलाई सहज उपचार सेवा उपलब्ध गराउन प्रतिष्ठानले अलग्गै ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको हो ।

प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलका अनुसार कोभिड अस्पतालमा रहेको सय बेडमध्ये ३० बेडलाई डेंगु वार्डकोरुपमा प्रयोगमा ल्याइएको हो । आइतबारदेखि सञ्चालनमा आएको वार्डमा मंगलबार साँझ ६ बजेसम्मको तथ्यांकमा २१ जना विरामी भर्ना भएका छन् भने अरु पनि भर्ना हुने क्रममा रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको सेन्ट्रल इर्मजेन्सीमा उपचारमा आएकामध्ये ५० प्रतिशत हाराहारी डेंगुका विरामी हुने सहप्रवक्ता डा.पोखरेलले बताए । इर्मजेन्सीको क्षमता सय बेडको भएपनि डेढ सय भन्दा बढी विरामी आउने गरेका छन् । डेंगु क्लिनिकमा उपचारका लागि आएका विरामीहरु मध्ये सिकिस्त विरामीहरुलाई आई.सि.यू., इमर्जेन्सी र अन्य वार्डहरुमा उपचारार्थ भर्ना गरिनेछ । त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरुलाई छुट्टै डेंगु वार्डमा भर्ना गरेर उपचार गरिने प्रतिष्ठानले जनाएको छ । 

हाल कोभिड अस्पतालमा सञ्चालनमा ल्याइएको डेंगु वार्डमा विरामीको चाप र आवश्यकतालाई हेरेर भविष्यमा वेड क्षमता विस्तार गर्ने र सघन उपचार सेवा (आइ.सि.यू) समेत संचालन गर्ने योजना रहेको पनि प्रतिष्ठानले जनाएको छ । डेंगुका विरामीहरुलाई वार्डमा सार्न वा आइसियुमा लैजानुपरेमा डेडिकेटेड एम्बुलेन्सको पनि व्यवस्था गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । यस्तै, कार्यालय समय सकिएपछि दैनिकरुपमा कामु उपकुलपति प्रा.डा.प्रह्लाद कार्की, अस्पताल निर्देशक डा.जगतनारायण प्रसादलगायत पदाधिकारीहरुले डेंगुका विरामीको अवस्था र उपचार सेवाबारे निरीक्षण तथा जानकारी पनि लिइरहेको उनले बताए ।