धरान: धरान ४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकालाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । 

धरान वडा नं १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो स्वामित्वको जग्गामा मेयर हर्क साम्पाङ नेतृत्वमा उपमहानगरपालिकाले जर्बजस्ती वृक्षारोपण गरेको भन्दै निषेधाज्ञा माग गर्दै रिट निवेदन दिएकी थिइन् । उक्त रिट निवेदनको बिहिबार सुनुवाई गर्दै न्यायाधिश मिलनकुमार राईको इजलाशले मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृतरुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश जारी गरेको हो । 

निवेदक अधिकारीको नाममा धरान बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनिपुर्जा प्रतिलिपीबाट देखिएकोले कानुन वमोजिम अन्यथा नभएसम्म निजको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारकोरुपमा रहने पनि आदेशमा उल्लेख छ । 

भिडियोः

मेयर साम्पाङले पछिल्लो २ शनिबार सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा वृक्षारोपण गरेका थिए । सोही क्रममा पुर्ववडाअध्यक्ष अधिकारीको श्रीमतिको नाममा भएको जग्गामा पनि वृक्षारोपण गर्दा गएको शनिबार विवाद भएको थियो । पुर्ववडाअध्यक्ष अधिकारीले छोटीमोरङमा होटल सञ्चालन गरेका छन् भने स्काई एडभेञ्चर प्याराग्लाइडिङ कम्पनी पनि सञ्चालन गरिरहेका छन् । उक्त कम्पनीको टेकअप स्थल पनि सोही ठाउँमा छ । गत शनिबार मेयर साम्पाङको नेतृत्वमा टेकअप स्थलमा वृक्षारोपण भएपछि विवाद चर्किएको थियो । 

छोटीमोरङ डाँडा सट्टाभर्ना दिइसकेको सर्दु जलाधार क्षेत्रमा पर्ने भएपनि लगतकट्टा नहुँदा किनबेच भएको थियो । सर्वोच्च अदालतमा सट्टाभर्ना दिएको प्रमाण पेश नहुदा जग्गाधनीकै हकभोग कायम हुने विगतमा फैसला भएको थियो । पछिल्लो समय भने सट्टाभर्ना दिएको प्रमाण पेश भएपछि पुरानो फैसला उल्टाउदै सर्वोच्च अदालतले नै जग्गा रोक्का राखेको छ भने मुद्दालाई पुर्ण इजलाशमा पेश गर्न पनि आदेश दिएको छ । पुर्णइजलाशबाट अन्तिम फैसला नहुदै मेयर साम्पाङले जर्बजस्ती वृक्षारोपण गरेको अधिकारी परिवारको भनाई छ । 

jaladhar uchh

jaladhar uchha1