धरान: साउन ५ गते धरान इटहरी सडकखण्डमा पर्ने सेउती पुल नजिक भएको लुटपाट र गोली प्रहार गरि हत्या घटनामा थप २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका १ घर भई हाल धरान ८ बस्दै आएका ३० बर्षीय प्रकाश लिम्बु र विराटनगर १५ का ४१ बर्षीय अजय कुमार शर्मा रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । पक्राउ परेका शर्मा घटनामा प्रयोग भएको हतियार बेचबिखनमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ । उनी यसअघि लागुऔषध मुद्दामा ४ बर्ष ८ महिना कैद भुक्तान गरि ४ महिना अघि मात्र छुटेको अनुसन्धानबाट देखिएको कोशी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं एसपी ऋषिराम कँडेलले जानकारी दिएका छन् । 

उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रदेश प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले साउन १८ गते पक्राउ गरेको हो । यही साउन ५ गते इटहरी २० मा पर्ने सेउती पुल नजिक लुटेराहरुको समुहले विराटनगरका २८ बर्षीय रोहित चौधरीलाई गोली हानेर हत्या गरेका थिए । प्रेमिकासँग जन्मदिन मनाएर घर फर्कने क्रममा उनीहरु सेउती पुल दक्षिण इटहरी २० तर्फ मोटरसाइकल रोकेका थिए ।

सोही बेला पैदल आएका लुटेरहरुको समुहले चौधरीको प्रेमिकालाई लुटपाट गर्न थालेपछि प्रतिकार गरेका थिए । त्यसैक्रममा उनीमाथि गोली प्रहार भएको थियो । उक्त घटनाका मुख्य नाइने लेटाङ नगरपालिका १ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरानका अनसन तामाङलाई यसअघि नै पक्राउ गरि प्रहरीले सार्वजनिक गरिसकेको छ । लुटेराको यो समुहमा ६ जना रहेको र उनीहरुले विगतमा पनि केराबारीदेखि बराहक्षेत्रको भरौल जोड्ने जंगलमा पनि लुटपाट गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।