धरान: मेडिकल तथा ल्याबहरुको अनुगमनको क्रममा धरानका अग्रज चिकित्सक डा.तपन तरफदारको मानमर्दन हुने गरि पत्रकारले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको बिषयमा शुक्रबार व्यवसायीहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण बुझाएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले ध्यानाकर्षण पत्र बुझाउदै गैरपत्रकार, फेसबुके, युट्युबेहरुलाई हुलहुज्जत साथ लिएर फिल्मीशैलीमा सामाजिक सञ्जालमार्फत अमर्यादित भिडियोबाजी नगर्न पनि अपिल गरेको छ । अनुगमन अधिकृतको अनुमतिपछि मात्र भिडियो, अडियो रेकर्ड राख्न पनि महासंघले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । साथै, व्यवसायी, कर्मचारी, सेवाग्राहीहरुको पनि गोपनियता, मानवअधिकार र व्यवसायिक मर्यादाको ख्याल राख्न पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ । यद्यपी, ध्यानाकर्षण पत्रमा भिडियो पोष्ट कस्ले वा कुन मिडियामा भएको हो भन्ने उल्लेख छैन ।

यो विवाद चर्किएर डा. तपनको क्लिनिकमा दर्ता विना ल्याब सञ्चालनमा भएको कुरा पनि ओझेलमा परेको छ । डा.तपनको पक्षमा धरानका व्यवसायीहरु मात्र होइन, राजनीतिक व्यक्तिहरु र बौद्धिक जगत पनि उभिएको छ । डा.तपनले विगतमा धरानको स्वास्थ्य उपचारको क्षेत्रमा पुर्याएको योगदानलाई बिर्सेर उनको मानमर्दन हुने गरि सामाजिक सञ्जालमा भिडियो भाइरल गरेको भन्दै आलोचना भइरहेको छ । 

tapan

उपमहानगरपालिकामा छलफलको क्रममा पनि व्यवसायीहरुले अनुगमनको नाममा पत्रकार र युट्युबरहरु लिएर अनधिकृतरुपमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेर मानमर्दन गर्ने गरेको भन्दै आपत्ति जनाएका थिए । वडा नं २ का अध्यक्ष रमेश राईले पनि पत्रकार र युट्युबरले गर्दा सम्मानित व्यक्तिको वद्नाम भएको भन्दै असन्तुष्टी जनाएका थिए । अनुगमन समिति संयोजक एवं उपमेयर अइन्द्रबिक्रम बेघाले अनुगमनको क्रममा सबैले आआफ्नो मर्यादा र क्षेत्राधिकारमा रहेर हिड्न आग्रह गरे । उनले पत्रकारहरु अनुमगनको क्रममा हिडेपनि अनुमगन अधिकृत वा अनुगमन सदस्य जसरी प्रश्न सोध्नेलगायत कार्य नगर्न र जे हो, त्यही मात्र भिडियो खिच्न आग्रह गरेका थिए ।

अनुगमनको क्रममा बुधबार डा.तपनको क्लिनिक धरान औषधालयमा दर्ता नभएको ल्याब सञ्चालनमा रहेको भेटिएपछि पत्रकारले भिडियो बनाएर आफ्नो व्यक्तिगत फेसबुक पेजमा पोष्ट गरेपछि विवाद शुरु भएको थियो । उक्त भिडियोमा सार्वजनिक भएपछि उनले डा.तपन र त्यहाँ कार्यरत कर्मचारीलाई अनुगमन अधिकृत भएको झैं बनेर प्रश्न गरेको भन्दै टिकाटिप्पणी भएको थियो । सोही विवाद बढ्दै गएर व्यवसायीहरुले उपमहानगरको ध्यानाकर्षण गराएका हुन् ।

भिडियो:

भिडियो: