धरान: किरात राई यायोक्खा सुनसरीले डेंगुका विरामीलाई उपचार केन्द्र सञ्चालन गर्न आवश्यक भए स्थानीय सरकारलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ । 

किरात राई यायोक्खाको ३६ औं स्थापना दिवस सोमबार धरानमा मनाउने क्रममा यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले यस्तो घोषणा गरेका हुन् । धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राईले भने,‘धरान अहिले डेंगुले आक्रान्त छ । स्थानीय सरकारले उपचार केन्द्र चलाउछ भने यायोक्खाको भवनहरु निःशुल्करुपमा उपलब्ध गराउछौं । सकेसम्म हामी पनि भोलेन्टियरकोरुपमा खट्छौं ।’

महामारीलाई अन्त्य गरेर धरान र जिल्लालाई स्वास्थ्य बनाउन यायोक्खा स्थानीय सरकारसँग सहकार्य गर्न तयार रहेको पनि बताए । यायोक्खाको आफ्नै भवन, विभिन्न वडा प्राकसहरुमा रहेको भवन पनि वडा कार्यालयहरुले आवश्यकता ठानेमा उपचार केन्द्रको लागि उपलब्ध हुने जिल्ला अध्यक्ष राईले बताए । वडा ८, १५, १७, १३ र ५ मा यायोक्खाको भवन छ । 

yayokha4

प्रमुख अतिथि एवं यायोक्खा पुर्वकेन्द्रीय अध्यक्षसमेत रहेका धरानका पुर्वमेयर तिलक राईले यायोक्खामा युवा पुस्तालाई आकर्षित गर्नुपर्ने बताए । यसको लागि वडाहरुमा ठोस योजना बनाएर जानुपर्ने उनले सुझाव दिए । केन्द्रमा युवा पुस्ता नेतृत्वमा आएपनि प्रारम्भिक कार्यसमितिहरुमा युवा पुस्ता संस्थाप्रति आकर्षित हुन नसकिरहेकोमा गम्भीरतापुर्वक लाग्नुपर्ने उनले बताए । 

कार्यक्रममा आदिबासी जनजाति समन्वय परिषद सुनसरीका अध्यक्ष राम राई, यायोक्खा सुनसरीका सल्लाहकार पुर्वगोर्खा मेजर डि.बि.राई, वडा नं ८ का वडाअध्यक्ष धनबहादुर राईले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा यायोक्खाको वडाहरुमा लामो समय नेतृत्व गरेर संस्थागत योगदान पुर्याएका ४ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वडा नं १८ प्राकसका पुर्वअध्यक्ष बिर्खबहादुर राई, यायोक्खा वडा १७ का अध्यक्ष बलराम राई, यायोक्खा वडा १९ का अध्यक्ष मेघनाथ राई र यायोक्खा वडा ८ का अध्यक्ष निरबहादुर राई रहेका छन् । 

yayokha3

सम्मान कार्यक्रममा वडा १८ का पुर्वअध्यक्ष बिर्खबहादुर राई र वडा १७ का अध्यक्ष बलराम राई मात्र उपस्थित भएका थिए । अन्य २ जना सम्मानित व्यक्तिहरु स्वास्थ्य समस्याको कारण उपचाररत अवस्थामा भएकोले उपस्थित हुन नसकेको र घरमा नै सम्मान पत्र पुर्याउने यायोक्खा सुनसरीका सचिव नविन राईले जानकारी दिए । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि, यायोक्खा सुनसरीका अध्यक्षले फेटा गुथेर र सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा रक्तदान पनि आयोजना गरिएको थियो ।

भिडियो:

yayokha1