धरान: भानुचोकस्थित घण्टाघरमा कार्यरत ज्यालादारी दुई श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले एक साताभित्र दुवै मजदुरलाई पुनःनियुक्ती नगरे आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले आज (शुक्रबार) संयुक्तरुपमा मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाउदै पुनः नियुक्ती नभए आन्दोलनको चेतावनी दिएका हुन् । घण्टाघर स्थापनाकालदेखि नै धरान २ का नरबहादुर लिम्बु (राजा) र धरान १४ का प्रकाश राई माली तथा चौकीदारकोरुपमा कार्यरत थिए । उनीहरुलाई हालै मात्र उमेरको कारण देखाउदै उपमहानगरपालिकाले कामबाट हटाएको थियो ।

trade

ट्रेड युनियनहरुले न्युनतम ज्याला लिएर काम गरिरहेका श्रमिकलाई रोजगारीबाट विमुख गर्ने घटनाप्रति सम्पुर्ण मजदुरहरुको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । लामो समयदेखि श्रम गर्दै आएका ज्यालादारी श्रमिकलाई विना कारण जागिरबाट हटाउनु निश्चय नै श्रमप्रतिको घोर अपमान भएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।

ट्रेड युनियनहरुले मेयर साम्पाङसँगै प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई पनि ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले धरानका सबै वडाका अध्यक्षहरु र कार्यपालिका सदस्यहरुलाई पनि पत्र बुझाउने जानकारी दिए । 

बालबालिका र ज्येष्ठ नागरिकलाई श्रममा नलगाउने: मेयर साम्पाङ

मेयर साम्पाङले ज्ञापन पत्र बुझ्दै २ जना मात्र नभै उमेर धेरै पुगिसकेका ७ जनालाई विदा दिइएको बताए । अन्य कुनै कारण नभएको भन्दै उनले बालबालिका र ज्येष्ठ नागरिकहरुलाई श्रममा नलगाउने नीति अनुसार नै विदा दिइएको जिकिर गरे । ‘अन्य कुनै कारण छैन । उमेर नै धेरै पुगिसकेको हुनाले विदा दिइएको हो,’मेयर साम्पाङले भने,‘उहाँहरुलाई केही दिएर विदा गर्ने बिषय चै कार्यपालिका बैठकबाट नै निर्णय गर्नुपर्ने हुन्छ ।’ पुराना कर्मचारी हटाएर आफन्त जागिर खुवाएको भन्ने आरोपबारे मेयर साम्पाङले धरानका सबै नै आफ्नो आफन्त भएको जवाफ दिएका थिए । 

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले पनि उमेर धेरै नै पुगिसकेको कारण विदा दिइएको जनाउदै केही प्याकेज दिएर सम्मानपुर्वक पठाउने सन्दर्भमा कार्यपालिकामा एजेण्ड लैजानुपर्ने बताए । यसको लागि मेयर साम्पाङसँग आवश्यक सल्लाह गर्ने पनि उनले बताए । 

भिडियो: