धरान: राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

महासंघको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर बन्द गराउन पहल गरिदिन पनि आग्रह गरेको छ । प्रायः सबै नगरपालिका, गाउँपालिकाहरुले राजमार्ग र सहायक राजमार्गहरुमा ठेक्का लगाएर सबै सवारीसाधनहरुसँग पटकै पिच्छे रकम असुली गरिरहेको महासंघले जनाएको छ । महासंघका प्रदेश समिति अध्यक्ष सरोज श्रेष्ठले यो समस्या धरानमा मात्र नभएर सबै पालिकाहरुमा रहेको बताए । ‘यो आग्रह धरानका प्रमुख ज्युलाई मात्र होइन, सबै स्थानीय तहहरुलाई हो,’ उनले भने ।

कानुन पालना गराउनुपर्ने स्थानीय सरकार आफैले राजमार्गहरुमा ढाट वा गुम्ती राखेर जर्बजस्ती गाडी रोकेर कर असुली गरिरहेकोमा आपत्ति प्रकट गर्दै महासंघले सवारीसाधनले दैनिक, मासिक एवं बार्षिक लाखौं रुपैया सवारीसाधनले तिर्नुपर्ने बाध्यता रहेको पनि बताए । कानुनमा एक पालिकामा सवारी दर्ता तथा बार्षिक सवारी कर लिएपछि अर्को पालिकाले त्यस्तो सवारी दर्ता तथा बार्षिक सवारी कर लिन नपाउने व्यवस्था गरेपनि प्रत्येक पालिकामा पटके कर बुझाउनु बाध्य भइरहेको महासंघ अध्यक्ष श्रेष्ठले बताए । 

पटके करकोरुपमा गैरकानुनी कर असुलीले गर्दा व्यवसाय नै धरासायी भएर आर्थिक व्ययभार परिरहेको भन्दै व्यवसायीहरुले अत्यधिक गुनासो कारण महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि अध्यक्ष श्रेष्ठले बताए । स्थानीय सरकार सञ्चालन ऐन, कानुन, नियमावलीमा व्यवस्था भए वमोजिम आफ्नो क्षेत्र अन्तर्गत पालिकाहरुले आफैले बनाएको बाटो वा आफुलाई हस्तान्तरण भएको सडक बाहेक मुख्य राजमार्ग, सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा ढाट राखेर वा गुम्ती राखेर जर्बजस्ती असुल गर्ने कार्य तत्काल बन्द गर्न पनि महासंघले माग गरेको छ । गैरकानुनी असुली बन्द नभए बाध्य भएर कानुनी उपचारको सहारा लिनुपर्ने अवस्था सृर्जना नगरिदिन पनि महासंघले जनाएको छ। मेयर साम्पाङले ज्ञापन पत्र बुझ्दै त्यसबिषयमा थप अध्ययन गर्ने बताए ।

भिडियो: