धरान: कोशी प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका कांग्रेसका सांसद इस्राइल मन्सुरले पनि मतदान प्रक्रियामा भाग लिएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

बैठकको अध्यक्षता गरिरहेका मन्सुरीले नै मतदान प्रक्रियामा भाग लिएपछि एमालेले नाराबाजी पनि गरेका थिए । तर, मन्सुरीले नाराबाजीकै बीच मुख्यमन्त्री थापाले विश्वासको मत ४७ प्राप्त गरेको घोषणा गर्दै बैठक भदौ ६ गते दिउँसो १ बजे बस्ने गरि स्थगित गरे । 

अन्योलका बीच आज प्रदेशसभामा भएको मतविभाजन हुँदा ७७ जना सांसदहरु उपस्थित भएका थिए । ती मध्ये बैठक अध्यक्षता गरिरहेका मन्सुरीसहित ४७ जनाले थापाको पक्षमा विश्वासको मत दिए । विपक्षमा ३० मत परेको थियो । प्रदेशसभाको बैठक सञ्चालन गरिरहेका मन्सुरीले अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षता गर्न आग्रह गर्दै मतदान गरेका थिए । उनले मतदान गरेपछि पुनः बैठकको अध्यक्षता गरेका थिए । 

एमाले सांसदहरुको नाराबाजीकै बीच मन्सुरीले प्रदेशसभा सदस्य कुल ९३ मध्ये मत विभाजन हुँदा ७७ जना उपस्थित रहेको र मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमा ४७ जनाको मत प्राप्त भएकोले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए । सभामुख बाबुराम गौतमले राजिनामा दिएर समर्थन गरेपछि गठबन्धनबाट कांग्रेसका थापा मुख्यमन्त्री बनेका थिए । एक मतले मात्र गठबन्धनलाई बहुमत पुगेको थियो । आज विश्वासको मत लिने कार्यसुची भएपछि उपसभामुख सृर्जना दनुवारले राजिनामा दिने वा अनुपस्थित हुने चर्चा थियो । त्यसो हुँदा अध्यक्ष मण्डलका ज्येष्ठ सदस्यबाट बैठकको अध्यक्षता बस्नुपर्ने र मतदानमा भाग लिन नपाउदा सत्ता गठबन्धनलाई आवश्यक ४७ मत नपुग्ने सबैको अनुमान थियो । 

अनुमान अनुसार नै उपसभामुख दनुवारले अध्यक्ष मण्डलका कांग्रेसका सांसद इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्नु भन्ने पत्र थमाएर काठमाण्डौं हिडिन् । जसले गर्दा विश्वासको मतमा बहुमत नपुग्ने स्पष्ट थियो । तर, बैठकको अध्यक्षता गरिरहेका मन्सुरीले पनि मत दिएपछि मुख्यमन्त्री थापाले विश्वासको मत पाएका छन् ।